काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न निर्देशन दिएका छन् ।
शनिबार काँग्रेस भक्तपुर जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टीमा योग्य, जुझारु र गतिशील नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताए ।
उनले प्रजातन्त्रलाई सङ्कटमा आउन नदिन पनि काँग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने र प्रजातन्त्रमाथि फेरि सङ्कट आउन नदिने गरी काँग्रेसलाई बलियो बनाउन देशभर सङ्गठन निर्माणको अभियान सञ्चालन गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वानसमेत गरे।
सभापति देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ । गठबन्धनको सरकार भएको कारणले पनि हो, त्यसले गर्दा खेरी आज हाम्रो पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । यहाँ केही कुराहरू उठेका छन् साथीहरू । उठाउनु पनि पर्छ । कुरा महत्त्वपूर्ण हुन । तर, पार्टीमा समानुपातिक प्रतिनिधित्व प्रतिनिधिसभामा हुनका लागि संविधानको संशोधन आवश्यक छ । त्यसका लागि दुई तिहाइ बहुमत चाहिन्छ । त्यसका लागि सबै पार्टीहरूमा सहमति हुन जरुरी छ । यदि सहमति हुन सक्यो भने यी विचारहरू नहुने भन्ने होइन । तर, त्यसका लागि समय लाग्दछ । योग्य, जुझारु साथीहरूलाई हामीले अगाडि बढाउनुपर्छ । त्यसमा लाग्ने कुरा प्रतिबद्धता जनाउन चाहन्छु । हामी सबै एक भएर जाऊँ । ’