अब कोही पनि नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब कोही पनि नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन : मन्त्री श्रेष्ठ


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् ।

बुधबार ईलाम र झापाका  भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण थालेको छ। संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपालीहरू भूमिहीन हुनु पर्दैन। मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले ईलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गरिन् ।  झापाको कनकई नगरपालिकाका-२९ र  इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले पुर्जा पाएका हुन्।

उनले देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू रहेकाले अब यो काम तीव्र गतिमा हुने अभियान नै चलाउने बताइन् ।

‘यो देशमा हजारौँ भूमिहीन, दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पीडा र मर्का मलाई राम्रैसँग थाहा छ। आज उहाँहरूलाई जग्गाधनी लालपुर्जा दिने ठाउँमा पुगेको छु’, पुर्जा हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति स्पिडमा काम भइरहेको छ। जसको नतिजा आजदेखि देखिँदैछ। आजदेखि औपचारिक रूपमा हामीले भूमिहीनलाई पुर्जा वितरण सुरु गयौँ, यो अभियान देशभर चुस्तदुरुस्त जान्छ।’

भूमिहीन दलित सुकुम्वासीहरूलाई भूमिमाथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीनतहका सरकारको साझा कार्यक्रमको रूपमा अघि बढिरहेको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस