काठमाडौँ । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा ‘कोशी प्रदेश’ नराख्ने निर्णय गरेको छ।
प्रदेश सभाले १ नम्बर प्रदेशको नाम कोशी राखेको थियो । पहिचानवादीले विरोधका कार्यक्रम सुरु गरेपछि गाउँ कार्यपालिकाले कोसी प्रदेश नलेख्ने निर्णय गरेको हो।
प्रदेशभित्रका कतिपय स्थानीय तहले आफ्नो लेटरप्याड, छाप र कार्यालयको बोर्डमा कोसी नाम नराखेको पाएपछि आफूहरूले पनि सोही निर्णय गरेको गाउँपालिकाले जनाएको छ । कोसी प्रदेश नामकरणलगत्तै विरोधमा उत्रिएको किराँत-राई-यायोक्खा खोटाङले संघसंस्थादेखि राजनीतिक दलसम्मलाई साइनबोर्ड, लेटरप्याड र छापमा कोसी प्रदेश नलेख्न आग्रह गर्दै आएको छ।
१० स्थानीय तह रहेको जिल्लामा अधिकांशले आफ्नो कार्यालयको बोर्ड तथा लेटरप्याड र छाप परिवर्तन गरेका छन्। जन्म, मृत्युजस्ता पञ्जीकरणका कार्य भने अनलाइनमार्फत दर्ता गरिने भएकाले कोसी प्रदेश उल्लेख छ।