काठमाडौँ । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले सरकारी कर्मचारीका ट्रेड युनियन र राजनीतिक दलका भ्रातृ सङ्गठन खारेज गर्न माग गरेको छ।
सोमबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाउँदै परिषद्ले स्थानीय तह, प्रदेश र केन्द्रसम्म निजामती सेवाका कर्मचारीको आधिकारिक ट्रेड युनियन र प्रत्येक दलहरूको भ्रातृ सङ्घ सङ्गठन खारेज नगरिए देशको अवस्था सुदृढ हुन नसक्ने जनाएको छ।
परिषद्का उपाध्यक्ष खगेन्द्रराज बस्नेत र प्रवक्ता हेमशंकर गिरीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्।
पूर्वसुरक्षाकर्मी समेत विभिन्न दलका भ्रातृ संघसंगठनमा आबद्ध भएको भन्दै परिषद्ले गैरनाफामुलक वा गैरराजनीतिक रूपमा सक्रिय हुन मिल्ने भए पनि राष्ट्रसेवकले राजनीतिक गर्न नमिल्ने उल्लेख गरेको छ।
राजनीतिक दलहरूले गैरकानुनी रूपमा ट्रेड युनियन र भ्रातृ संस्थाको अभ्यास गरिरहेको भन्दै परिषद्ले यसको अन्त्यका लागि पहल गर्न आयोगको ध्यानाकर्षण गराएको छ ।