काठमाडौँ । निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ। व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ घुस मागेको अडियो क्लिप सार्वजनिक भएसँगै निलम्बनमा परेका श्रेष्ठले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ भइरहेको हो ।
मन्त्री बन्नका लागि २ करोड घुस मागेको अडियो बाहिरिएपछि आफूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध श्रेष्ठले दायर गरेको रिट न्यायाधीश द्वय कुमार रेग्मी र आनन्दमोहन भट्टराईको इजलासमा पेशी परेको छ।
यसअघि जेठ ५ गते न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा पेसी रहेको थियो। उक्त दिन हेर्न नभ्याउने हुँदै सुनुवाइ सरेको थियो। आज सुनुवाइ हुने श्रेष्ठको मुद्दा ११ नम्बरमा पेसी रहेका छ।
पार्टीको उक्त निर्णयको विरोधमा श्रेष्ठले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ। दलको निर्णयको आधारमा संसद् सचिवालयले उनलाई सांसद पदबाट हटाएको जानकारी निर्वाचन आयोगलाई दिएपछि श्रेष्ठले उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै वैशाख २४ गते सर्वोच्चमा रिट दायर गरेका थिए।