गृहसचिव भट्टराईद्वारा राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर काम गर्न निर्देशन  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गृहसचिव भट्टराईद्वारा राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर काम गर्न निर्देशन 


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । गृहसचिव दिनेश भट्टराईले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुको निरीक्षण भ्रमण गरेका छन् । भ्रमणका क्रममा सचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन् । 

गृहसचिव भट्टराईले नेपाल सरकार गृह मन्त्रालय नेतृत्वबाट अगाडि सारिएका मूल्य मान्यता, निष्ठा र आदर्शलाई आत्मसाथ गर्दै कानून र विधिद्वारा स्थापित आफ्नो जिम्मेवारीहरू समेत मनन गर्दै राष्ट्र र जनतालाई केन्द्र भागमा राखेर तोकिएको जिम्मेवारीहरू व्यावसायिक ढङ्गले उच्च मनोबलका साथ बहन गर्न सङ्गठनका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशन दिएका हुन् । 

उनले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभुमि, सङ्गठनात्मक संरचना, काम कर्तव्य र अधिकार, जिम्मेवारी अन्तर्गतका विषयहरूमा शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, दङ्गा नियन्त्रण, सार्वजनिक सम्पत्तिको संरक्षण, राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा, कानुनको कार्यान्वयन, विशिष्ट व्यक्तिहरूको सुरक्षा लगायतका विषयहरूमा सङ्गठनबाट भए/गरेका गतिविधि, प्राप्त भएका उपलब्धी र अगाडि देखा परेका समस्या तथा चुनौतीहरूलाई समेटेर गरिएको प्रस्तुतीकरणले सङ्गठनको समग्र क्रियाकलापबारे थप जानकारी प्राप्त भएको बताए ।

उनले शान्ति, सुरक्षा र प्रतिबद्धताको मूल मन्त्रलाई आत्मसाथ गरी सशस्त्र प्रहरी बलले स्थापना कालदेखि नै विभिन्न आरोह-अवरोह पार गर्दै कार्यक्षेत्रमा आई परेका सुरक्षा चुनौतीहरूलाई सामना गरी नागरिकको जिउधनको सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व सुरक्षा, औद्योगिक सुरक्षा लगायतका जिम्मेवारी निर्वाहमा अहोरात्र खटिने सकल दर्जाका कर्मचारीहरूको समर्पण भाव, कर्तव्यपरायणता र लगनशीलताको प्रशंसा गर्दै राज्यले सुम्पेका जिम्मेवारीहरू सँगसँगै सशस्त्र प्रहरी बलले भइपरी आउने विषम परिस्थितिहरूमा समेत आफ्नो क्षमता, व्यावसायिकता, उच्च पेशागत दक्षता प्रदर्शन गरी राज्यको सक्षम सुरक्षा निकायको रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको बताए । 

गृहसचिव भट्टराईले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको बाबजुद कठिन परिस्थिति र स्थानमा समेत सीमा सुरक्षार्थ तैनाथ रहेको र प्रतिकुल अवस्थामा रहेका बिओपीहरुको सुधारको लागि समयानुकूल बन्दोबस्त व्यवस्थापनमा गृह मन्त्रालय सदैव सकारात्मक रहेको भन्दै प्रहरीलाई प्रविधि मैत्री, चलायमान र सीमा सुरक्षाको डेडिकेटड फोर्स बनाउनुपर्ने उल्लेख गरे ।

उनले शान्ति सुरक्षा कायम गर्न सशस्त्रका कर्मचारीहरूले सक्षमता, निपूर्णता तथा तदारुकताका साथ कार्य गर्ने अपेक्षा राखेको बताउँदै विपद् प्रतिकार्यको पुर्वतयारीमा जुट्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस