पापी कर्मचारीतन्त्र « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पापी कर्मचारीतन्त्र


३ जेष्ठ २०८०, बुधबार


राज्य र सरकारको उदयसँगै सरकारका काममा सघाउने उद्देश्यका साथ कर्मचारीतन्त्रको उदय भएको भएको मानिन्छ। प्राचीन मिश्र ,रोम र चीनबाट कर्मचारीतन्त्रको सुरुवात भएको पाइन्छ । कर्मचारीतन्त्रको उदय प्राचीन कालदेखि भए पनि सामाजिक विज्ञानका विद्धानहरूले यसको अध्ययन गर्न शुरु गरेको करिव २७७ वर्ष पुगेको छ। कर्मचारीतन्त्र शब्दको प्रयोग सर्वप्रथम सन् १७४५ फ्रान्सेली अर्थशास्त्री भिन्सेन्ट डी गोर्नेले गरेका थिए र उनले जनतालाई दुख दिने संयन्त्रको रूपमा कर्मचारीतन्त्रलाई परिभाषित गरेका थिए। कर्मचारीतन्त्रको बारेमा सर्वप्रथम व्यवस्थित ढङ्गबाट अध्ययन गरेका जर्मन समाजशास्त्री म्याक्स वेवर हुन् ।उनले  सन् १९११ मा प्रकाशित गरेको आफ्नो पुस्तकमा कर्मचारीतन्त्रका प्रमुख विशेषताको बारेमा चर्चा गरेका छन् ।

उनका अनुसार कर्मचारीतन्त्रका प्रमुख विशेषता पदसोपान ,निष्पक्षता, तटस्थता योग्यता प्रणालीमा आधारित, लिखित अभिलेख ,कानुन तथा नियममा आधारित, निश्चित वृत्ति प्रणाली ,स्थायीत्व ,निर्वैयक्तिता हुन् । म्याक्सवेवरले उल्लेख गरेका  विशेषता बोकेर हालसम्म पनि बाँचिरहेको कर्मचारीतन्त्रले बदलिँदो आर्थिक, सामाजिक ,राजनीतिक, प्राविधिक, कानुनी परिवर्तन र जनताका अपेक्षा तथा चाहनासँग लय मिलाउन नसक्दा आलोचनाको सिकार हुन पुगेको छ । व्यवस्थापनविद् ,समाजशास्त्री राजनितिज्ञ, वैज्ञानिक र आम नागरिकले कर्मचारीतन्त्रको प्रवृत्ति माथि खुलेर आलोचना मात्र गरेका छैनन् यसको विकल्पको खोजी तर्फ समेत बहस छेडेका छन् ।

सरकारको नीति कार्यान्वयनको प्रमुख संयन्त्रको रूपमा रहेको कर्मचारीतन्त्र सबल, सक्षम, नैतिक र जिम्मेवार भएमा शासन व्यवस्थाले सिर्जना गरेका शासकीय लाभ जनता समक्ष पुगी सरकारप्रति जनताको विश्वास बढ्न जान्छ। सरकारले जनताका इच्छालाई सार्वजनिक नीति मार्फत कार्यान्वयन गर्न खोज्छ र ती नीतिको तर्जुमाका लागि आवश्यक पर्ने सूचना तथा तथ्याङ्क, विज्ञता कर्मचारीतन्त्रले राजनीतिज्ञलाई उपलव्तध गराउने गर्दछन् । यसरी सार्वजनिक नीतिको तर्जुमा र कार्यान्वयन दुवैमा सक्रिय र अर्थपूर्ण सहभागिता रहने कर्मचारीतन्त्र निष्पक्ष, तटस्थ, नैतिक ,योग्य, व्यावसायिक रहनुपर्छ भन्ने मान्यता रहिआएको छ। सरकारको नेतृत्वमा जुनसुकै राजनीतिक दलको नेतृत्व रहे पनि कर्मचारीतन्त्रले निष्पक्ष ढङ्गले काम गर्ने र व्यावसायिक सुझाव तथा सल्लाह राजनीतिक नेतृत्वलाई दिनुपर्छ भन्ने मान्यताका साथमा कम्पिटेन्ट कर्मचारीतन्त्रको  अवधारणा समेत विकास भएको छ

नेपालको कर्मचारीतन्त्र

नेपालमा पनि कर्मचारीतन्त्रको सुरुवात शासनव्यवस्थाको सुरुवात भएको गोपाल वंशसँगै भएको इतिहासको अध्यनवाट प्रस्ट हुन्छ । गोपाल, अहिर, किरात, लिच्छवी र मल्लकाल जसलाई प्राचीन शासन व्यवस्थासमेत भनेर चिनिन्छ, उक्त समयबाटै नेपालमा कर्मचारीतन्त्रको सुरुवात तथा क्रमशः विकास तथा विस्तार भएको हो । नेपालको आधुनिक कर्मचारीतन्त्रको विकासको क्रम पृथ्वी नारायण शाहले काठमाडौँ उपत्यकामा विजय गरेपश्चात् शुरु भएको मानिन्छ । शाह वंशको कर्मचारीतन्त्र मुलत: सैनिक नेतृत्व भएको जातीय कर्मचारीतन्त्र हो । पाँडे, पन्त, खनाल, राना, वोहोरा, अर्याल लगायत जातीको कर्मचारीतन्त्रमा बोलवाला थियो भने सैनिक नेतृत्वमा थापा र पाँडे थरको बोलवाला थियो। सरकारी सेवा प्रवेशका लागि चार पास तथा तलबको रूपमा जग्गा प्रदान गरिन्थ्यो । सैनिक नेतृत्वमा रहेको कर्मचारीतन्त्र मुलत शासकप्रति जबाफदेही रहन्थ्यो।

शाह वंशीय कर्मचारीतन्त्रमा पजनी प्रथाको बोलवाला रहेको थियो । वि सं  १९०३  मा राणा शासनको सुरुवात भएपश्चात् नेपालको कर्मचारीतन्त्र पुर्णत राणा शासकप्रति कमिटेड बन्न पुग्यो । सैनिक नेतृत्व अन्तर्गत रहेको कर्मचारीतन्त्र राणाजीहरूको चाकरी र चाप्लुसीमा रमाउन पुग्यो। करिव १०४ वर्ष चलेको राणा शासनमा नेपालको कर्मचारीतन्त्र राणा शासनको रापमा निसास्सिन पुगेको देखिन्छ । चन्द्र शमशेर पछिका राणा शासकले कहीँ सुधारका प्रयास गरे पनि ती सुधार प्रयाप्त भने थिएनन् ।कर्मचारीलाई नगदमा तलब दिने, कर्मचारीको अभिलेख राख्ने ,कार्यालय समय तोक्ने जस्ता केही सुधारका प्रयास राणा शासनकालमा भएको देखिन्छ।

वि सं २००७ सालको राजनीतिक परिवर्तन पश्चात् नेपालको कर्मचारीतन्त्र स्पोईल सिस्टमबाट मेरिट वेस सिस्टम तर्फ प्रवेश गरेको देखिन्छ। वि स २००८ सालमा लोकसेवा आयोगको स्थापनाले नेपालको कर्मचारीतन्त्र योग्यतामा आधारित बनाउन महत्त्वपूर्ण आधार सिर्जना गरेको हो । वि सं २००९ सालमा गठन भएको वुच कमिटीले नेपालको प्रशासन सुधारको सुरुवात गरे पनि वि सं २०१३ सालमा प्रधानमन्त्री टङ्क प्रसाद आचार्यको अध्यक्षतामा गठन भएको आयोगले नेपालको कर्मचारीतन्त्र आधुनिक बनाउन र यसको जगलाई मजबुत बनाउन कोसेढुङ्गाको रूपमा काम गर्न सफल भएको थियो। त्यसपश्चात् गठन भएका प्रशासन सुधार आयोगले दिएका सुझाव आचार्य आयोगको जस्तो कार्यान्वयन नभए पनि नेपालको कर्मचारीतन्त्रको सुधारको लागि धेरथोर योगदान भने अवश्य गरेका छन् । विसं २०६३ साल पछि नेपालको कर्मचारीतन्त्र समावेशीताको मर्मलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको छ । छनोटमा योग्यता र समावेशिता हालको कर्मचारीतन्त्रका अत्यन्तै सबल पक्षका रूपमा रहेका छन् ।

सार्वजनिक नीति कार्यान्वयन मार्फत शासन व्यवस्थाले सिर्जना गरेका लाभ जनतामा पुर्‍याउने मुख्य जिम्मेवारी भएको नेपालको कर्मचारीतन्त्र सुधारका अनेकन प्रयासका बाबजुद खराब अवस्थाबाट गुज्रिरहेको छ ।कमजोर सेवा प्रवाहका कारण जनताको कर्मचारितनत्रप्रतिको विश्वास अत्यन्त कमजोर हुँदै गएको छ र जनता अत्यन्त निराश बन्न पुगेका छन् । लोकसेवा आयोगको कडा प्रतिस्पर्धात्मक परीक्षामा अव्वल भएर आएका नंया मेधावी जनशक्तिलाई खराब सङ्गठनात्मक कार्य संस्कृतिले छोटो समयमा असक्षम र निराश कर्मचारीको रूपमा परिवर्तन गरिरहेको छ । राणाकालीन लिगेसिवाट हुर्केको नेपालको कर्मचारीतन्त्रमा चाकरी र चाप्लुसी प्रथा विद्यमान छ ।

नातावाद ,जातिवाद ,सामन्ती सोच ,जिम्मेवारी पन्छाउने ,जिम्मेवारी नलिने ,जबाफदेहिताको अभाव, पारदर्शिताको अभाव ,परिवर्तन विरोधी मानसिकता, नैतिक मूल्यमान्यतामा ह्रास ,राजनितिज्ञसंगको मिलीभगत, भ्रष्टाचार, प्रक्रियामा रमाउने, मानवीय संवेदना प्रति संवेदनहीनता ,स्वार्थ समूहका लागि काम गर्ने, कमजोर निर्णय निर्माण, पक्षपात, राजनीतिक रूपमा विभाजित ,ढिलासुस्ती, गोपनीयतामा रमाउने, एकले अर्कालाई आरोप लगाउने, नवप्रवर्तन र सिर्जनात्मक काम गर्न नखोज्ने जस्ता दर्जनौँ कमजोरीले नेपालको कर्मचारीतन्त्र जनतालाई दुख दिने संस्थाको रूपमा विकास भई पापी कर्मचारीतन्त्रको रूपमा रूपान्तरण हुन खोज्दै छ । जनताले कर्मचारीतन्त्र सम्झन बित्तिकै नकारात्मक तस्बिर दिमागमा बनाउने अवस्था कर्मचारीतन्त्रका क्रियाकलापले सिर्जना भएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र जस्तो उन्नत राजनीतिक व्यवस्था आइसक्दा पनि नेपालको कर्मचारीतन्त्रको माइन्ड सेट र कार्यशलि राणा शासनकालीन र पञ्चायती शासनको भन्दा माथि उठ्न सकेको देखिँदैन । आफ्नो व्यक्तिगत फाइँदाका लागि जस्तो सुकै काम पनि गर्न पछि नपर्ने तर जनताको सेवाका लागि डेग नचल्ने परिपाटि मौलाउँदै गएको छ । कर्मचारी काम नै गर्दैनन् र गरे पनि यिनीहरूको कामबाट कुनै नतिजा निस्कँदैन भन्नेमा जनता विश्वस्त देखिन्छन् । जनताको नजरमा दु:ख दिने संस्थाको रूपमा इमेज बनाएको नेपालको कर्मचारीतन्त्र खराब कर्मचारीतन्त्रवाट पापी कर्मचारीतन्त्रको रूपमा रूपान्तरण हुन खोज्दै छ । माथि उल्लेखित कमजोरीमा व्यापक सुधार गरी नेपालको कर्मचारीतन्त्र पापी कर्मचारीतन्त्र हुनबाट रोक्नका लागि कर्मचारीतन्त्रमा डिस्ट्रक्टिभ रिफर्मको आवश्यकता छ।

लेखक नेपाल विद्युत् प्राधिकरणका प्रशासकीय अधिकृत हुन्

Tags :
प्रतिक्रिया दिनुहोस