दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुर्गमको व्यथा : विद्यालय पुग्न चार घण्टा पैदल


२६ बैशाख २०८०, मंगलबार


गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्छिन् । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छन्त्याल बिहानै उठेर विद्यालय हिँड्न थालेको एक वर्ष बित्यो ।

गाउँकै डिल्ली प्राथमिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेकी छन्त्याल एक घण्टाको पैदल यात्रामा पुगिने विष्णु आधारभूत विद्यालयमा कक्षा ८ सम्म अध्ययनपश्चात् अर्को वडामा पुगेर कक्षा ९ देखि शान्ति माध्यमिक विद्यालय खुङ्खानीमा अध्ययन गर्दै आएकी छन्।

भित्रिवनमा कक्षा ५ सम्मको मात्रै विद्यालय भएकाले दैनिक चार घण्टा आउजाउको पैदल यात्रापछि मात्रै शान्ति माध्यमिक विद्यालयमा आएर अध्ययन गरिरहेको ललिता छन्त्यालको भनाइ छ । छन्त्यालका अनुसार गाउँमै माध्यमिक शिक्षासम्मको अध्यापन नहुँदा बिहान दुई घण्टा र बेलुका दुई घण्टा हिँडेर विद्यालयमा आएर अध्ययन गर्ने गरेको बताइन् ।

“बिहानै उठेर विद्यालय हिँड्नुपर्छ, बेलुका घर पुग्दा साँझ परेको हुन्छ, हिँड्दाहिँड्दै थाकिन्छ, गृहकार्य गर्ने समय नै हुँदैन, दिउँसो खाजा खाने समयमा गृहकार्य गर्ने गरेकी छु, विद्यालय टाढा हुँदा अतिरिक्त क्रियाकलाप गर्न सकिँदैन, १० कक्षामा अतिरिक्त कक्षा सुरु भएपछि घरबाट विद्यालय आउन भ्याइँदैन यही कोठा खोजेर अध्ययन गर्न बस्ने हो’, छन्त्यालले भनिन्, ‘परीक्षाको समयमा विद्यालयले नै यही राख्ने व्यवस्था मिलाउने छ, अघिपछि बस्नु परे कोठा भाडामा लिएर बस्नुपर्दछ ।’

छन्त्यालमात्रै होइन, तमानखोला गाउँपालिका–६ पात्लेखेतका रूप घर्ती घरबाट आउजाउ गरेर विद्यालय अध्ययन गर्न नसकेपछि आफन्तकै घरमा बसेर शान्ति माविमा अध्ययन गर्छन् । कक्षा ५ सम्म आफ्नै गाउँको मालिका प्राथमिक विद्यालयमा अध्ययन गरेका घर्ती ६ देखि ८ सम्म विष्णु आधारभूतमा अध्ययनपश्चात् अहिले खुङ्खानी आएर कक्षा १० मा अध्ययन गर्दै आउछन् ।

‘आफ्नो वडामा ८ कक्षामाथि पढाइ हुँदैन, अध्ययन गर्नका लागि ६ नं वडा बाट ५ मा पुग्नुपर्ने हुन्छ, विद्यालय आउजाउमै समय खर्च भएपछि खुङ्खानीमा रहेका आफन्तको घरमा बसेर अध्ययन गर्दै आएको छु’, घर्तीले भने,’विद्यालय टाढा भएपछि शुक्रबार र शनिबारमात्रै घरमा पुग्ने गर्दछु, बर्खाको समयमा पहिराले बाटो नहुँदा बाटोबाटै घर फर्कनुपर्ने अवस्था हुन्छ ।’

अत्यधिक वर्षा र हिमपातजस्ता प्राकृतिक प्रकोपको समयमा विद्यालय पुग्न नसक्ने विद्यार्थीको भनाइ छ । वडा नं ६ को पात्लेखेत र भित्रिवनबाट खुङ्खानीको विद्यालयमा आउन र जान दैनिक चार घण्टा पैदल हिँड्नुपर्दछ भने नर्जाखानीबाट आउन जान दुई घण्टाको पैदल यात्रापछि विद्यालय पुग्न सकिन्छ । नर्जाखानीमा ८ देखि १० सम्म अध्ययन हुने विद्यालय नहुँदा खुङ्खानी पुग्नुपर्ने बाध्यता छ ।

खुङ्खानीको सोही वडाकै गाउँ थास्पुरीबाट विद्यालय आउन जान दैनिक दुई घण्टा लाग्ने गरेको कक्षा १० मा अध्ययन गर्ने विपना सुन्चौरीले बताइन् । विद्यालय आउन जानै धेरै समय खर्च हुने भएकाले राम्रोसँग गृहकार्य गर्न नपाउने सुन्चौरीको भनाइ छ । वर्षा र बाढी पहिराको समयमा विद्यालय आउन जानै समस्या हुने गरेको सुन्चौरीको भनाइ छ ।

पछिल्लो समय विद्यालयको शैक्षिक अवस्था सुधार हुँदै गए पनि दुर्गमका कारण अझै टाढाबाट विद्यालय आउनुपर्ने बाध्यता रहिआएको शान्ति माविका प्रधानाध्यापक सत्यनारायण सिंहले जानकारी दिइन् । ‘अहिले विद्यालयमा प्रविधिमैत्री तरिकाले अध्ययन अध्यापन हुँदै आएको भए पनि नर्जाबाट २५, भित्रिवनबाट १२ र पात्लेबाट छ जना घन्टौँ पैदल यात्रापछि यहाँ अध्ययन गर्न आउने गरेका छन्’, उनले भनिन्, ‘नर्जाबाट आउन जान दुई घण्टा लाग्छ तर भित्रिवन र पात्लेबाट आउन जान झन्डै चार घण्टा लाग्ने गरेको छ, परीक्षाको समयमा विद्यालयमै बस्ने खाने व्यवस्था मिलाउने तयारी विद्यालयको छ ।’

भौगोलिकरूपमा निकै विकट तथा थोरै जनसङ्ख्या भएकाले तमानखोला गाउँपालिकामा माध्यामिक तहका जम्मा तीन वटा मात्रै विद्यालय भएकाले कक्षा ९ र १० अध्ययन गर्नका लागि छ वडामध्ये तीन वटा वडाका विद्यार्थी छिमेकी वडामा पुग्नुपर्ने बाध्यता रहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिइन् ।

आधा दशक अगाडिसम्म जीर्ण भवन, खानेपानी र शौचालयको अभावमा गुज्रिएको यस विद्यालयले अहिले भौतिकरूपमा मात्रै होइन, शैक्षिक गुणस्तरमा मुहार फेरेको गाउँपालिकाको भनाइ छ । गाउँपालिकाले शिक्षा क्षेत्रमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार शान्ति माविले प्रतिफल दिन थालेको उनको भनाइ छ ।

कक्षा १० सम्म पढाइ हुने यस विद्यालय विसं २०२१ मा स्थापना भएको थियो । विसं २०४२ देखि निम्नमाध्यमिक र २०६४ बाट माध्यमिक तह पढाइ हुँदै आएको छ । यहाँ १० कक्षासम्म पढाइ सकेर उच्च शिक्षाका लागि यहाँका विद्यार्थी पालिकाको केन्द्र रहेको बोङ्गा दोभानस्थित जनजागृति मावि पुग्नुपर्छ । विद्यालयमा हाल दुई सय ८८ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा प्रोजेक्टरबाटै अध्यापन गराउन थालिएको छ भने कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला र गाउँपालिका अध्यक्ष पुस्तकालय कार्यक्रम सञ्चालित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस