नैराश्यता चिर्न काँग्रेस-एमालेबीच सहकार्य आवश्यक : महेश बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नैराश्यता चिर्न काँग्रेस-एमालेबीच सहकार्य आवश्यक : महेश बस्नेत


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काँग्रेसको बुद्धि पलाए राजनीतिक रूपमा सहकार्य हुने बताएका छन्।

कास्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्थायीत्व र अहिले देखिएको नैराश्यता चिर्न काँग्रेस-एमालेबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।

काँग्रेस-एमालेबीचको सहकार्यकै कारण २०४६ सालको परिवर्तन, संविधान सभाबाट संविधान निर्माण आदि सम्भव भएकाले अहिलेको लोकरिझ्याइँ र सार्वजनिक खपतका लागि राजनीतिक गर्ने चिन्तनलाई कम गर्न दुई पार्टीबीच सहकार्य हुनुपर्ने बताएका हुन्।

उनले भने, ‘यो मैले आम जनताको भावना बोलेको हुँ, मेरो कुरा गरेको होइन। व्यापारी, उद्योगी, मिडियाका साथीहरू पनि के भन्नुहुन्छ भने, एमाले-काँग्रेसको ग्यापका कारण नोक्सान भयो । अहिले जेजस्ता विकृति, विसङ्गति देखा परेका छन्, त्यसले पनि काँग्रेस एमालेबीच सहकार्य हुनुपर्‍यो। सत्ता साझेदारी गरे पनि नगरे पनि स्थिर सरकार दिने कुरामा लाग्नुपर्‍यो भन्ने सुझाव आएका छन्।’

उनले एमाले अहिले कसैलाई प्रधानमन्त्री प्रस्ताव गर्ने अवस्थामा नरहेको बताए। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गर्ने कुनै सम्भावना नरहेको बताए।

उनले भने, ‘एमाले सस्तो लोकप्रियता हुने कुरातिर लाग्दैन, यस्ता स्तरहीन राजनीतिक चेतना नभएकालाई एमाले प्रधानमन्त्री बनाउँछ भन्ने कुरा हास्यास्पद हो । एमालेको प्रचार विभागले कुनै व्यङ्ग्यात्मक टेलिसिरियल बनायो भने त्यस्तामाचाहिँ प्रधानमन्त्रीको रोल दिन सकिएला।’

Tags :
प्रतिक्रिया दिनुहोस