काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वृद्धि हासिल गर्न सरकार पूर्ण सक्रियताका साथ लागि परिरहेको बताएका छन् ।
नेपाल बिजनेस समिटलाई आज काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको बताए ।
उनले नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि शोधानान्तर घाटामा उल्लेख्य सुधार आई शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि सुधार भएको, आयातको परिमाणमा पनि उल्लेख्य मात्रामा कमी भएको र विप्रेषणमा उत्साहजनक वृद्धि भएको बताए ।
अन्य विकसित एवं विकासशील मूलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्रा कोष तथा विश्व बैंकले विभिन्न प्रक्षेपणहरूका बाबजुद नेपालको समग्र अर्थतन्त्रको अवस्था सुधारोन्मुख रहेको उनको भनाइ रहेको छ ।
उनले भने, ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ । विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रस्ट पारेका छन् ।’
राष्ट्रिय उत्पादन वृद्धि गर्ने, रेमिट्यान्सलाई व्यवस्थित बनाउने तथा स्वावलम्बी अर्थनीति अवलम्बन गर्ने कार्यमा सरकार, निजी क्षेत्र र नागरिक समाज सक्रिय रहेमा आर्थिक धरातल बलियो बन्ने धारणा पनि उनले राखे ।
नेपालको अर्थतन्त्रप्रति आम रूपमा चिन्ता र चासो बढेको भन्दै उनले नेपाल सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिहरूलाई तीव्र बनाउनु अहिलेको प्रमुख आवश्यकता हुन आएको बताए ।
आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको तयारी भइरहेको सन्दर्भमा आयोजित बिजनेस समिटबाट आर्थिक सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको विषयमा नीतिगत सुझावहरू सरकारले पाउने र आगामी मार्ग तय गर्न सहयोग पुग्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गरे ।
तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वदेशी/वैदेशिक लगानी विस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता उनले औँल्याए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘यी क्षेत्रहरूमा देखिएका विभिन्न प्रशासनिक एवं कानुनी व्यवधानहरूलाई सरलीकरण गर्न नेपाल सरकार सदैव तत्पर रहेको छ । ती क्षेत्रहरूमा लगानी प्रवर्द्धनका लागि देश तथा विदेशका वित्तीय संस्थाहरूबाट पूँजी परिचालन गर्न नेपाल सरकारले सहजीकरण गर्नेछ ।’