प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रेसमैत्री कानुन बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिनेछु : सभामुख


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानुनको प्रभावकारी कार्यान्वयन र अब बन्ने कानुन प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आठौँ राष्ट्रिय पत्रकारिता दिवस २०८० को अवसरमा आम श्रमजीवी पत्रकार एवं सञ्चारकर्मीमा शुभकामना व्यक्त गर्दै नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएको समस्याप्रति चिन्तितसमेत व्यक्त गरेका छन् ।

उनले भनेका छन्, ‘समाचारमूलक पहिलो पत्रिका गोरखापत्र प्रकाशनको अवसर पारेर सुरु गरिएको राष्ट्रिय पत्रकारिता दिवस आम श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीका लागि आफ्नै राष्ट्रिय पर्वका रूपमा विकास हुन् सकोस् भन्ने कामना पनि गर्दछु ।’

उनले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताको जिउँदो इतिहास गोरखापत्रलाई १२३औँ स्थापना दिवसको अवसरमा पनि शुभकामना व्यक्त गरेका छन् ।

उनले नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता क्षेत्रको भूमिका स्मरणीय भएको बताउँदै सबै लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाका कारण संविधानमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको पुनः स्मरण गराएका छन् ।

‘आम रूपमा नेपाली पत्रकारिता क्षेत्रले समाजका बेथिति, विसङ्गति तथा विकास, सुशासन र समृद्धिका पक्षमा खेलेको भूमिका बिर्सन सकिँदैन, द्वन्द्व, आन्दोलन, प्राकृतिक विपत्, महामारीका बीचमा पनि नेपाली पत्रकारले सम्झौता नगरी आफ्नो कर्मप्रति देखाएको सेवा भाव अनुकरणीय छ’, सन्देशमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस