‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लागौँ’


२३ बैशाख २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् पूर्व मन्त्री शिशिर खनालले राजनीतिक विचारभन्दा माथि उठेर मुलुकको विकासमा लाग्नुपर्ने
बताएका छन् ।

जनकल्याण सामाजिक केन्द्र र सिद्धेश्वर करिडोर समितिले आज यहाँ आयोजना गरेको वातावरणसम्बन्धी अन्तरक्रियामा उनले विकासका लागि राजनीति गर्न नहुने बताएका हुन् । ‘राजनीतिलाई फरक ढङ्गले अगाडि बढाउनुपर्छ, अर्को पार्टीलाई निषेध गर्ने परिपाटीको अन्त्य गर्नुपर्छ’, उनले भने ।

खनालले बागमती करिडोर सरसफाइका लागि धेरै तहमा छलफल भए पनि विष्णुमती करिडोरको विकासका बारेमा धेरै छलफल हुन नसकेको बताए । संसारको प्रदूषित सहरमध्ये काठमाडौँसमेत भएको जनाउँदै यसलाई वातावरणमैत्री बनाउन प्रत्येक व्यक्तिको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

उनले सङ्घ र प्रदेश सरकार कानुन बनाउन व्यस्त हुने भएकाले स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासका लागि विशेष चासो दिनुपर्ने बताए । ‘सङ्घ र प्रदेश सरकारको सहयोगमा स्थानीय सरकारले स्थानीय क्षेत्रको विकासमा लाग्नुपर्छ’, उनले भने ।

नेपाली काँग्रेसकी नेत्री एवम् बागमती प्रदेशसभा सदस्य हरि प्रभा खड्गी श्रेष्ठले वातावरणमैत्री सहरका व्यक्ति र घरपरिवारबाट चेतना आउनुपर्ने बताइन् । वृक्षारोपण गर्दा मानव जीवनलाई प्रत्यक्ष फाइदा पुग्ने रूख बिरुवा रोप्नुपर्ने उनको भनाइ थियो ।

उनले सडक कालोपत्र गर्दा ढल, खानेपानी र बिजुलीको अवस्थालाई राम्रोसँग अध्ययन गर्नुपर्ने बताइन् । नीति निर्माणसँगै स्थानीय तहको विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको खड्गीले बताइन् ।

नेपाली काँग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीले विकासका लागि जनप्रतिनिधिको इच्छाशक्ति हुनुपर्ने बताए । टोखा–९ का वडा अध्यक्ष रामभक्त घिमिरेले स्थानीय सरकारदेखि केन्द्रीय सरकार सहकार्य गरेर अगाडि बढे मात्र स्थानीय तहको विकास हुने बताए ।

जनकल्याण सामाजिक केन्द्रका अध्यक्ष विकासकुमार दासले काठमाडौँलाई स्वच्छ, हराभरा र वातावरणमैत्री सहर बनाउने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए । प्राकृतिक वातावरण र राजनीतिक वातावरण राम्रो भए मात्र देशको विकास सम्भव हुने अध्यक्ष दासको भनाइ छ ।

सिद्धेश्वर करिडोर समितिका अध्यक्ष उमाकान्त सिवाकोटीले विष्णुमती कोरिडोरलाई सुन्दर, सफा र हराभरा बनाउन तीनै तहका सरकारको उत्तिकै भूमिका रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस