सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सशस्त्र प्रहरी नायब निरीक्षकमाथि खुकुरी प्रहार


२३ बैशाख २०८०, शनिबार


महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा खटिएका एक सशस्त्र प्रहरी नायब निरीक्षकमाथि शुक्रबार राति खुकुरी प्रहार भएको छ ।

दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोजमा रहेको सशस्त्र प्रहरी बलको बिओपीका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक नरेन्द्र चैँसिरमाथि चार/पाँच जनाको युवा समूहले खुकुरी प्रहार गरी घाइते बनाएको छ ।

सशस्त्र प्रहरी बल ३५ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने युवाको खोजी भइरहेको बताए । ‘जोग बुढा झोलुङ्गे पुल नजिकैको पसलमा मादक पदार्थ सेवन गरेर हो-हल्ला गरिरहेका युवाहरूलाई सम्झाउँदा उल्टै खुकुरी प्रहार गरी भागे’, सशस्त्र प्रहरी उपरीक्षक रावलले भने, ‘खुकुरी प्रहार गर्नेको पहिचान भइसकेको छ, खोजी कार्य जारी छ ।’

सशस्त्र प्रहरीका अनुसार खुकुरी प्रहार गर्नेमा स्थानीय रोहन बइक र रोशन दमाईं लगायतका युवाको समूह हो । खुकुरी प्रहारबाट सशस्त्र प्रहरी नायब निरीक्षक चैँसिरको बायाँ पाखुरामा चोट लागेको छ ।

‘ड्युटीमा रहेका प्रहरी कर्मचारीमाथि खुकुरी प्रहार गर्नेलाई कडाभन्दा कडा कानुनी कारबाही हुन्छ’, रावलले भने, ‘त्यसका लागि नेपाल प्रहरीसित पनि समन्वय भइरहेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस