जलवायु असर न्यूनीकरण कार्ययोजना स्वीकृत « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जलवायु असर न्यूनीकरण कार्ययोजना स्वीकृत


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । जलवायु परिवर्तनबाट पर्नसक्ने जोखिम न्यूनीकरण गराउन जलाधार व्यवस्थापनका कार्य अगाडि बढाइएको छ ।

गण्डकी जलाधार जलवायु उत्थानशील नामक कार्यक्रममार्फत रसुवामा जलवायु अनुकूलनसम्बन्धी काम गराउने कार्ययोजना स्वीकृत भएको आज धुञ्चेमा जानकारी दिइयो ।

वन तथा भूसंरक्षण विभाग, आइयुसियन नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त आयोजनामा रसुवासमेत २० जिल्लाको आधार इलाकामा कार्यक्रम विस्तार हुने आयोजक संस्थाले जनाएको छ ।

जलवायु परिवर्तनको असरले समुदाय र वातावरणीय क्षेत्रमा पार्ने असरलाई न्यूनीकरणका लागि सात उपजलाधार समूहमार्फत २० जिल्लाको आधार इलाकामा दुई लाख ८५ हजार पारिस्थितिकीय प्रणालीलाई जलवायुको अनुकूलित गर्ने जनाइएको छ ।

एक लाख एक हजार हेक्टर वनक्षेत्र, आठ हजार हेक्टर घाँसे मैदानको संरक्षण तथा ८३ वटा जलाधार क्षेत्र एवं ५६ हजार चार सय हेक्टर वनक्षेत्रको स्तरोन्नति गरिने कार्यक्रम अधिकृत लिना चालिसेले बताए ।

सो कार्यक्रमअन्तर्गत १० हजार उद्यमी तयार गर्ने, २० हजारलाई रोजगारी सिर्जना गर्ने एवं कार्बन उत्सर्जन न्यूनीकरण गर्नेलगायतका विविध कार्यक्रम सञ्चालन हुनेसमेत कार्यक्रम अधिकृत चालिसले बताए ।

कार्यक्रममा सङ्घीय जलाधार स्रोतकेन्द्र कुलेखानीका प्रमुख श्यामप्रसाद न्यौपाने, प्रकृति संरक्षण कोषका जलवायु विज्ञ डा मनिषराज पाण्डे समेतका विज्ञले कार्यक्रमको उपादेयीताबारे प्रष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस