खानेकुरा पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खानेकुरा पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सरकारले खाद्य वस्तु पत्रपत्रिकामा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले प्रिन्टेड पत्रपत्रिकामा स्वास्थ्यलाई असर पार्ने रसायन हुने भएकाले फुड प्याक गर्ने काममा प्रयोग गर्न प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएकी हुन् । 

काठमाडौँमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै मङ्गलवार उनले स्ट्रिट फुडको उपभोग बढ्दै गइरहेको सन्दर्भमा स्वच्छता ल्याउन पत्रपत्रिका प्रयोगमा प्रतिबन्ध लगाउने गरी कार्यविधि बनाउन लागिएको जानकारी गराइन् । ‘स्ट्रिट फुड केही सस्तो र मिठो खाजाको रूपमा राम्रो विकल्प हो’ उनले भनिन् ‘तर प्वाइजनिङ हुनुभएन, पत्रपत्रिकामा प्याक गर्दा त्यसमा भएको खतरनाक रसायन खाद्य वस्तु हुँदै हाम्रो शरीरभित्र प्रवेश गर्न सक्दछ, यसमा सुधार गर्नु अत्यन्तै जरुरी छ ।’

मालपुवा, सेल रोटी, समोसालगायत खाद्य कुराहरू पनि कागजमै पोको पारेर दिने चलन रहेको भन्दै उनले मसिमा भएको खतरनाक रसायनहरू खाद्यवस्तु हुँदै मानव शरीर भित्र पस्न सक्ने भएकोले सजग हुनुपर्ने देखिएको बताइन् । 

त्यसमा प्रयोग हुने पानी तथा तेलको गुणस्तरबारे प्रदेश तथा डिभिजन कार्यालयहरूबाट नियमित अनुगमन भइरहेको जानकारी दिँदै त्यसलाई थप प्रचार प्रसार गर्नुपर्नेसमेत उनको भनाई छ । 

महानिर्देशक वैद्यले सचेतना बढाउँदै हानिकारक वस्तुहरूलाई खाद्य ऐन अनुसार प्रतिबन्ध लगाउँदै लैजानु पर्ने स्पष्ट पारिन् । 

खाद्य स्वच्छता कायम गर्न सरकार सँगसँगै उपभोक्ताहरू पनि सजग हुन उत्तिकै जरुरी छ । मानव स्वास्थ्यका लागि हानिकारक खाद्यवस्तुहरूको उत्पादनदेखि बिक्रिवितरण तथा उपभोगसम्मै सजगता अपनाउन सके मात्रै स्वच्छ र स्वस्थ खान पाउने नागरिकहरूको अधिकार सुनिश्चित गर्न सकिने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस