महावीर पुन सल्लाहमै माइतीघरमा बसेको प्रधानमन्त्रीको दाबी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

महावीर पुन सल्लाहमै माइतीघरमा बसेको प्रधानमन्त्रीको दाबी


१८ बैशाख २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महावीर पुनलाई सरकारले सहयोग गरेन भन्नु झुट रहेको बताएका छन्।

सोमबार चितवनमा पत्रकारहरूसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले महावीर पुनको मागलाई आगामी बजेटबाट सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि उनी माइतीघरमा बसेको बताए।

माइतीघरमा बस्नुअघि आफूसँग सकारात्मक छलफल भएको प्रधानमन्त्रीले बताए। छलफलका क्रममा अहिलेको आर्थिक अवस्थाका कारण विकास बजेटको एक प्रतिशत बजेट छुट्याउने सहमति भएको उनको भनाई छ।

सहमति भएपनि महावीर पुनले बालुवाटारबाट निस्कने समयमा आफू अनसन बस्न लागेको कुरा जानकारी गराएको प्रधानमन्त्री प्रचण्डले बताए।

‘हिँड्नेबेलामा म त माइतीघर मण्डलामा बस्छु है, कस्तो हुँदो रहेछ भन्नुभाथ्यो,’ उनले भने, ‘मैले नै गएर माइतीघरमा बस् भन्न त मिल्दैन। तपाईँ बस्नुभयो भने मलाई सजिलै हुन्छ बजेट बनाउन पनि भनेको थिएँ।’

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘करिब करिब मैले बुझ्दा सल्लाहमै बस्नुभएको हो, सल्लाहमै जानुभएको हो। एकदुई दिन बस्नु राम्रै हुन्छ भन्ने थियो। हिजो उपप्रधानमन्त्री गएर कुराकानी गरेपछि करिब करिब टुङ्गिँदै छ।’

Tags :
प्रतिक्रिया दिनुहोस