काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यो वर्ष करिब १६ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य उपकरणसहित सवारीसाधन पैठारीमा राजस्व छुटको सिफारिस गरेको छ । मन्त्रालयले यो वर्ष रु. १५ खर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण, औजार, एम्बुलेन्स (२७६) थान र शबवाहान (२१ थान) को पैठारीमा राजस्व छुटको सिफारिस गरेको महालेखापरीक्षकको ६०औँ वाषिर्क प्रतिवेदन २०७९ मा उल्लेख छ ।
स्वास्थ्य संस्थाले पैठारी गर्ने स्वास्थ्य उपकरण, कोभिडजन्य आइटम, अक्सिजन जेनरेटर, भेन्टिलेटर, हेमोडायलाइसिस मेसिन, इकोकार्डियोग्राफी मेसिनको लागि राजस्व छुटको सिफारिस मन्त्रालयबाट हुने गरेको छ । तर, मन्त्रालयले राजस्व छुट दिई पैठारी भएका मेसिन/उपकरण तथा सवारीसाधन लक्षित वर्ग/समूहको हितमा प्रयोग भए नभएको सम्बन्धमा अनुगमन गरेको छैन । राजस्व छुट पाउने र नपाउने स्वास्थ्य संस्थाको सेवा शुल्क सम्बन्धमा मन्त्रालयले अनुगमन नगरेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
महालेखापरीक्षकको प्रतिवेदन अनुसार राजस्व छुट दिँदा प्राप्त गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरी स्वास्थ्य संस्थाले तिनुपर्ने र कर दाखिला गरे नगरेको सहुलियत पूर्ण मूल्य निर्धारण गरे नगरेको विश्लेषण गरेको छैन । राजस्व छुट प्राप्त स्वास्थ्य संस्थाको अनुगमन गर्ने र राजस्व छुटमा पैठारी भएका उपकरण तथा स्वास्थ्य सामग्रीको उपयोग गरी सेवा प्रवाह गर्दा सेवाग्राहीले तिर्ने शुल्कमा समेत सहुलियत हुने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।