काठमाडौँ । ‘कृषि, पूर्वाधार र पर्यटकीय नगरी : समावेशी, स्वच्छ र समृद्ध गोदावरी’ मूल मन्त्र रहेको ललितपुरको गोदावरी नगरपालिका उपत्यकाका १८ पालिकामध्ये सबैभन्दा ठुलो नगरपालिका हो । नेपाललाई भौगोलिक हिसाबले हिमाल, पहाड र तराई–मधेसको रूपमा विभाजन गरिए जस्तै यस नगरपालिमा पनि २ हजार ७ सय ६५ मिटर अग्लो फुल्चोकी डाँडादेखि तुलनात्मक रूपमा उष्ण हावापानी भएको डुकुछापसमेत पर्दछ ।
सङ्घीय राजधानी काठमाडौँको पश्चिम दक्षिणमा अवस्थित गोदावरी नगरपालिका धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले अनेकौँ सामर्थ्य र सम्भावनाको केन्द्र पालिका हो । पूर्वमा काभ्रे जिल्ला, पश्चिममा काठमाडौँ जिल्लाको दक्षिणकाली नगरपालिका र मकवानपुर जिल्ला तथा उत्तरमा ललितपुर जिल्लाकै ललितपुर महानगरपालिका रहेको गोदावरी नगरपालिकामा हाल १४ वटा वडा रहेका छन् ।
धार्मिक एवम् ऐतिहासिक महत्त्व
धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको भण्डार गोदावरी क्षेत्र उपत्यकाको रिङ रोडबाट १० किलोमिटरको दुरीमा अवस्थित छ । गोदावरी नगरपालिकाको आफ्नै धार्मिक एवम् ऐतिहासिक महत्त्व छ ।
प्रसिद्ध धार्मिक तीर्थस्थल गोदावरीको महत्त्वलाई आत्मसात् गरी यस नगरपालिकाको नामकरण गरिएको हो । स्कन्दपुराणको हिमवत खण्डमासमेत उल्लेखित गोदावरी तीर्थस्थल हिन्दु सँगसँगै बौद्ध धर्मालम्वीहरुको समेत आस्थाको केन्द्र हो । गोदावरी तीर्थ क्षेत्रमा चन्द्र शमशेरको समयमा निर्माण भएको हरियो दरबार र गौतम ऋषिको कुटी, बाह्र बर्षे सिंहअस्त मेला लाग्ने गोदावरी कुण्ड, लाम कुण्ड, गौरी कुण्ड, नौ धारा, पाँच धारा, पाँच देवल र सिद्धेश्वर महादेवलगायतका सम्पदाहरु रहेका छन् ।
यहाँ हरेक वर्षमा लाग्ने बाह्र बर्षे सिंहअस्त मेला अर्थात् गोदावरी मेला नेपालकै प्रसिद्ध मेला समेत हो । गोदावरी मन्दिर र यहाँ रहेको कुण्ड गोदावरीको अर्को विशेषता हो । यसै गरी गोदावरी नगरपालिका क्षेत्रभित्र रहेका गोदावरी नौ धारा, विशंखुनारायण, तिलेश्वरधाम, टीकाभौरव, सन्तानेश्वर महादेव, वज्रवाराही मन्दिर, श्वेत वाराही, गोदावरी फुलचोकी, लेले मनकामना, ठेचो नवदुर्गा, बालकुमारी, लेलेको जयलकुमारी बालकुमारी, छम्पी देवी मन्दिर, ठेचोको ब्रहृमायणी मन्दिर लगायतका धार्मिकस्थलहरुले नगरको धार्मिक एवम् संस्कृति परम्परा र धार्मिक पहिचानलाई चिनाउँदछन् ।
धार्मिक स्थल संरक्षण तथा जीर्णोद्धार: गोदावरी नगरपालिकाले आफ्नो नगर क्षेत्रमा रहेको धार्मिक र सांस्कृतिक सम्पदाहरूको सामर्थ्यबाट धार्मिक पर्यटन प्रवर्द्धन गर्दै समग्र पर्यटन विकास गर्ने लक्ष लिएको छ । सोही अनुरूप नगरपालिकाले धार्मिक तथा सांस्कृतिक मठ मन्दिर, तीर्थ, गुम्बा, चाबहिल, पाटी पौवा, पोखरी, बाजागाजा, सांस्कृतिक नाच लगायतको संरक्षण, संवर्द्धन र जीर्णोद्धार लगायतका कार्यहरुहरुलाई उच्च प्राथमिकतामा राखेको छ ।
गोदावरी क्षेत्रका धार्मिक स्थलहरू संरक्षण र जीर्णोद्धारका लागि पालिका लागि परेको छ । नगरपालिकाले पालिकाभित्र रहेका सम्पदामध्ये करिब ५० वटा मन्दिर निर्माण तथा मर्मतको गरेको छ । पालिकाले मठमन्दिरहरूलाई पुरातात्त्विक हिसाबले पुनर्निर्माण गरिरहेको छ ।
नगरपालिकाका प्रवक्ता मिलन सिलवालका अनुसार पञ्चायत कालदेखि जीर्णोद्धार हुन नसकेको जयलकुमारी बालकुमारी मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । उनले पुराना दरबारको उत्खनन गर्ने सोच राखेका बताए ।
समय समयमा लाग्ने मेलाको पर्वद्धन गर्ने र भजनमण्डीसँग हातेमालो गरेर पालिकाले काम गरिरहेको छ । वडा न.ं १४ का वडाध्यक्ष एवम् सांस्कृतिक सम्पदा संयोजक निरोज बज्राचार्यले भने ‘विभिन्न सांस्कृतिक बाजागाजाको प्रतिस्पर्धा गराउने, सूचिकृत भएका बाजाको संरक्षण गर्ने कामको लागि बजेट उपलब्ध गराएका छौँ ।’
बाजा संरक्षणका २५ हजार अनुदान: नगरपालिकाले मेला पर्व र सांस्कृतिक पर्वको संरक्षण गर्न बाजाहरूको संरक्षणका लागि सहयोग गरेको छ । नेवारी समुदायको सांस्कृतिक बाजाहरू धिमे बाजा, डाफाबाजा धाँ बाजाहरूलाई संरक्षणको काम भइरहेको छ ।
पालिकाले बाजा संरक्षणका लागि न्यूनतम २५ हजार रुपैयाँ उपलब्ध गराएको छ । यसै गरी लोप हुन लागेका नेवारी नाच संरक्षणका क्षेत्रमा पनि काम भइरहेको छ । लाखे नाच, डाफा नाचका लागि अनुदानको व्यवस्था गरिएको छ ।
मन्दिर र घाट संरक्षण: नगरपालिकाले २०३८ सालमा बाढीले क्षति पुर्याएको तिलेश्वरधाम क्षेत्र सरस्वती कुण्ड, तिलेश्वर महादेव, तिलेश्वर घाट, गंगाजमुना धाम क्षेत्रलाई उच्च प्राथमिकतामा रोखर काम गरिरहेको छ । यसै गरी हिन्दुहरूको आस्थाको धरोहर टीका भैरव मन्दिर संरक्षणका लागि पनि पालिकाले बजेट छुट्टाएको छ ।
उत्तर वाहिनी नदीको किनारमा रहेको मन्दिर परिसरको पूर्वाधार निर्माण र घाट निर्माण नगरपालिकाको उच्च प्राथमिकतामा छ । प्रत्येक शनिवार र मंगलबार दर्शनार्थीहरु आउने र प्रत्येक वर्ष चैत पूर्णिमाको दिन मेला लाग्ने यस मन्दिरको संरक्षणका लागि पालिकाले बजेट छुट्टाएको हो । पालिकाले मन्दिरको लागि बजेट छुट्टाएको र संरक्षणका लागि पर्खाल लगाउने काम गरेकोमा स्थानीय पनि सुखी छन् । ‘मन्दिरको संरक्षण नै हाम्रो प्राथमिकता हो,’ गोदावरी ६ का गङ्गाराम श्रेष्ठ भने, ‘हाम्रो चाहना मन्दिर संरक्षण गरेर आन्तरिक पर्यटन पर्वद्धन होस भन्ने नै छ ।’
जात्राको संरक्षण: गोदावरी नगरपालिकाका बासिन्दाले राष्ट्रिय चाडपर्वका साथै आफ्नै जाति र धर्म विशेषका चाडपर्वहरू र रीतिरिवाजहरू मान्दछन् । परम्परागत रूपमा मनाइने दसैँ, तिहार, तिजका अलावा यहाँ म्ह: पूजा, सिठी नख:, योमरी पुन्ही, गठे मङ्गल, ल्होसार लगायतका जाती विशेषका पर्व पनि मनाइने गरिन्छ ।
इन्द्रजात्रा, गाईजात्रा, घोडे जात्रा जस्ता जात्रा पनि गोदावरीमा मनाउने गरिन्छ । पालिकाले विभिन्न जात्राका लागि पनि सहयोग गर्ने गरेको छ । बाडेगाउँकी शर्मिला महर्जनले जात्रालाई सहयोग गरेर पालिकाले राम्रो काम गरेको बताइन् । जात्राको लागि स्थानीय तहले बजेट छुट्टाएकोमा गोदावरी १४ का सरोज महर्जनले खुसी लागेको बताए । उनले भने, ‘ढुङ्गा पनि विच्छाएको छ । खुसी छौँ । नयाँ अध्यक्षको कामबाट सन्तुष्ट छौँ ।’
यहाँ रहेका पाटी, पौवा, बहा, बहिल र गुम्बाहरू तथा सांस्कृतिक र कलाकौशललाई आत्मसात् गर्दै गोदावरी नगरपालिकाले आफ्नो प्रशासनिक भवन समेत कलात्मक रूपमा निर्माण गरेको छ । त्यसैगरी यस कलात्मक भवनबाट अत्याधुनिक र सहज सेवा दिने व्यवस्था मिलाइएको छ ।
पर्यटन तथा पूर्वाधार विकास
भ्यु टावर: गोदावरी नगरपालिकाले पर्यटन प्रवर्द्धनको कार्य अन्तर्गत वडा नम्बर ७ स्थित देवीचौर देउरालीमा भ्यूटावर निर्माण गरेको छ । परम्परागत छाने शैलीमा निर्माण गरेको यस भ्यूटावरबाट समग्र काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ । टावर निर्माणसँगै स्थानीय स्तरमा पर्यटन प्रवर्द्धन समेत हुन थालेको छ ।
सडक: नगरपालिका भित्र ३८.११३ कि.मि. सडक कालोपत्रे/पक्की भएको छ । यसै गरी ग्राभेल सडक १२५.१७७ कि. मि., इँटा ढुङ्गा छपाई ८.२६ कि.मि., आर.सी.सी. ८.४२३ कि.मि. र कच्ची सडक १४६.०६७ कि.मि. रहेको छ ।
वडाहरू जोड्ने विभिन्न सडक निर्माणको कार्य भइरहेको वडा न. १४ का वडाध्यक्ष निरोज बज्राचार्यले जानकारी दिए । उनले भने, ‘कोर एरियाका धेरै सडकमा ढुङ्गा विच्छाएका छौँ । अब प्रमुख बाटो पक्की बनाउने योजना छ । नयाँ बस्तीमा खानेपानी, ढल निकास र बाटो प्रमुख प्राथमिकतामा छ ।’
यस्तै वडा नं. ४ का वडाध्यक्ष सानुभाइ नगरकोटीले बडीखेल र लेले जाने बाटो यस वर्ष बनाउने गरी लागि परेका बताए । पालिकाले सडक पूर्वाधारमा एक अर्ब बढी रकम खर्चिने गरी तय गरेको छ । पार्टी पौवा, मन्दिर, पोखरीको संरक्षणसँगै टोलहरूमा ढुङ्गा छाप्ने काम भएको छ ।
ज्येष्ठ नागरिक भवन: ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै २ वटा भवन पनि निर्माण भएको छ । वडा नम्बर १४ ले ज्येष्ठ नागरिकलाई विशेष सेवा सुविधा दिने प्रयास गरिरहेको अध्यक्ष नगरकोटीले बताए । ज्येष्ठ नागरिकका लागि भवन बनाइनु राम्रो काम भएको बाडेगाउँका राजेन्द्र महर्जन बताए ।
अन्य पूर्वाधार: नगरपालिकाले पालिकाको प्रशासनिक भवन, चिस्यान केन्द्र, रङ्गशाला तथा खेल मैदान निर्माणलाई निरन्तरता दिएको छ । यसै गरी गोदावरी कुण्ड तथा लाम कुण्ड स्तरोन्नति गरिरहेको छ ।
प्राविधिक शिक्षालय, पोखरीटार र छम्पी पार्क, महिला सुरक्षित आवश गृह निर्माण जस्ता काम पनि पालिकाले गरेको छ । नागरिकलाई सेवा प्रवाह गर्ने प्रशासनिक भवन अपाङ्गमैत्री छ । एकीकृत ढङ्गबाट सेवा प्रवाह गर्ने उद्देश्यले यो भवन निर्माण गरिएको हो । भवनमा कलात्मक सुन्दरता पनि प्रयोग गरिएको छ ।
नगरपालिकाको खानेपानीको समस्या भएको क्षेत्रमा खानेपानी समस्या न्यूनीकरण गर्न डिप बोरिङ तथा आवश्यक व्यवस्थापन गरिएको छ ।
गोदावरी तीर्थ क्षेत्र गोदावरी राष्ट्रिय वनस्पति उद्यानको पवद्र्धनका लागि पनि पालिकाले काम गरिरहेको छ । यस उद्यानमा ५ सय ७३ प्रजातिका वनस्पति, १ सय ३७ प्रकारका जडीबुटी, २ सय ५० प्रजातिका पुतली, ३०० प्रजातिका चरा र २५ थरी स्तनधारी बन्यजन्तुहरु पाइन्छन् ।
आर्थिक वर्ष २०७९-८० देखि नगरका योजना जुन ५० लाख भन्दा बढीका छन् ती योजना टेन्डर प्रक्रियामा लगिएको प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालाले जानकारी दिए । उनले भने, ‘टेक्निकल कलेज, रङ्गशाला, गोदावरी ट्रेल र आफ्नै चक्रपथ बनाउँदै छौँ ।’ नगर अस्पताल, नगर बस सञ्चालनका लागि पनि गुरु योजना बनाएर अघि बढेको उनले बताए ।
शिक्षा र स्वास्थ्य
गोदावरी नगरपालिकाले गुणस्तरीय र सुलभ शिक्षा तथा स्वास्थ्य सेवालाई मुख्य प्राथमिकतामा राखेको छ । स्वास्थ्य क्षेत्रतर्फ जिल्ला अस्पताल वज्रवाराही लगायत गोदामचौर स्वास्थ्य केन्द्रको स्तरोन्नति एवम् सञ्चालन गरिएको छ ।
नेपाल सरकारले स्थानीय तहका प्रत्येक वडाभित्र एउटा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय गरेसँगै गोदावरी नगरपालिकाभित्र पनि स्वास्थ्य चौकीहरू स्थापना हुने क्रममा छन् । नगर प्रमुख गजेन्द्र महर्जनले शिक्षा र स्वास्थ्यलाई सहज बनाउने योजना अनुसार अघि बढेको बताए ।
जिल्ला अस्पताललाई सुसम्पन्न गर्ने गरी काम भइरहेको छ । ‘नगरवासीको स्वास्थ्यलाई अघि बढाएका छौँ । स्वास्थ्य चौकीसँगै जिल्ला अस्पताल स्तर वृद्धिका लागि काम गरेका छौँ,’ उनले भने ।
सामुदायीक पुस्तकालय: नगरपालिकाको वडा नं. ४ मा रहेको गोदावरी सामुदायिक पुस्तकालय काठमाडौँ उपत्यकाकै अग्रणी पुस्तकालयको रूपमा परिचित छ । पुस्तकालयमा विभिन्न सात वटा कक्षहरू छन् ।
विपद् जोखिम न्यूनीकरण कक्षमा विपद् तथा आपत्कालीन अवस्थामा उद्धारका सामग्रीहरू राखिएको छ । युवा तथा सङ्गीत कक्षमा युवाहरूका खेलकुदका सामग्रीसँगै सङ्गीतका आधारभूत सामग्रीहरू राखिएको छ । आइटी कक्षबाट कम्प्युटरको बेसिक कोर्स फ्रीमा सिकाउने गरिन्छ । लाइब्रेरी बाल कक्षमा बालबालिकाका करिब ५ हजार पुस्तक रहेका छन् । मुख्य कक्ष भनेको लाइब्रेरी कक्ष हो । यसमा करिब ८ हजार पुस्तक छन् । यहाँ विभिन्न १० बिदाका पुस्तकहरू छन् ।
गोदावरी सामुदायीक पुस्तकालयका लाइब्रेरियन शर्मिला दाहालका अनुसार लाइब्रेरीका पाठक सदस्य ६ सय २३ जना छन् । २ करोड २६ लाख ६१ हजार ६ सय ७० रुपैयाँको लागतमा लाइब्रेरी निर्माण भएको हो । शान्ति भोलिन्टिर्यस एसोसिएसन जापानको १ करोड ७० लाख २७ हजार ६ सय ४६ रुपैयाँ र नगरपालिकाले ५८ लाख रुपैयाँ सहयोगमा पुस्तकालय निर्माण भएको हो ।
लाइब्रेरीमा ६ महिनाका बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि पाठ्य सामग्रीहरू छन् । उनले भनिन्, ‘यहाँबाट सबै प्रकारको तालिम र ज्ञान सिकाउने काम हुन्छ । हामीले कृषकलाई पनि सिकाउँछौँ । कृषक र कृषि विज्ञबिच भेट गराउँछौँ । बालीमा रोग किरा लाग्यो भने कसरी निधान गर्ने, मल बीउको प्रयोग कसरी गर्ने, कुखुरा पालन, गाई भैँसी पालन बारे पनि सेवा दिन्छौँ ।’
गोदावरी सामुदायीक पुस्तकालयलाई व्यवस्थित गर्ने र अन्य स्थानमा शाखा विस्तार गर्ने विषयमा पालिकाले सोच बनाएको वडा नं. ४ का वडाध्यक्ष नगरकोटीले बताए । ‘मेरो प्राथमिकता, शिक्षा, स्वास्थ्य र खानेपानीमा छ,’ उनले भने, ‘पथप्रदर्शक माध्यमिक विद्यालयलाई प्लस टु बनाउने योजना छ । शिक्षालाई कसरी गुणस्तरीय बनाउन सकिन्छ भनेर १५ लाख रुपैयाँ छुट्टाएका छौँ ।’
शिक्षालाई उच्च प्राथमिकतामा राखेको नगरपालिकाले विभिन्न चार वटा कलेजलाई अनुदान उपलब्ध गराएको छ । ‘भोलिन्टीयर शिक्षकको व्यवस्था गरेका छौँ । शिक्षक अपुग भएको विद्यालयलाई शिक्षाको व्यवस्था गरेका छौँ,’ नगरप्रमुख महर्जनले भने, ‘टेक्निकल कलेजहरूलाई इन्जिनियरिङ कलेजका रूपमा अगाडी बढाउने काम भए रहेको छ ।’
त्यसैगरी लक्षित वर्गको वृत्ति विकासका लागि विभिन्न सीप मूलक तथा क्षमता अभिवृद्धिका कार्यहरू सञ्चालन भएका छन् भने युवा तथा खेलकुदलाई समेत उच्च प्राथमिकता राख्दै रङ्गशाला निर्माण लगायतका कार्यहरू सञ्चालित छन् । पालिकाले लक्षित बर्गलाई प्राथमिकतामा राखेर ढाका बुन्ने तालिम, यातायात तालिम, मकैको खोस्टाबाट फुल बनाउने, पुतली बनाउने, बासका खेलौना बनाउने तालिम प्रदान गरेको छ ।
यसरी गोदावरी नगरपालिकाले सुशासन, सामाजिक न्याय र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरू अगाडि बढाई रहेको छ ।
कृषि पर्वद्धनका लागि बिना व्याजमा ऋण: गोदावरी नगरपालिका कृषिका दृष्टिले उर्भर क्षेत्र हो । नगरले कृषिलाई बेरोजगारी समस्या न्यूनीकरणको मुख्य माध्यमको रूपमा समेत अङ्गीकार गरी कृषि विकासलाई पनि तीव्रता दिई रहेको छ ।
नगरपालिकाले बेरोजगार समस्या समाधानका लागि कृषिलाई व्यवसायीक रूपमा प्रवर्द्धन गरेको छ । कृषिमा लाग्नेका लागि बिना व्याजमा ५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइएको छ । रोटेशन अनुसार यो ३ वर्ष सम्ममा तिर्नुपर्ने हुन्छ । यसै गरी पालिकाले उपकरणमा ५० प्रतिशत सहुलियत दिएको छ ।
कृषि औद्योगिक ग्रामका लागि वडा नं. ८ मा डिपिआर तयार भइसकेको छ । यसका लागि इआएएको प्रक्रिया सम्पन्न भएको छ । कृषि क्षेत्रमा चिस्यान केन्द्र बनाउने, पशु शिविर राख्ने कामदेखि लिएर माटो परीक्षणसम्म गर्ने गरिएको प्रवक्ता एवम् वडा नं. ५ का वडाध्यक्ष सिलवालले बताए । उत्पादन वृद्धि होस र आर्थिक स्तर माथि जाओस् भनेर हामीले काम गरेका छौँ ।
हातेमालो र सहकार्य: गोदावरी नगरपालिकाले आफ्नो कार्यसम्पादनलाई चुस्त राख्न जनप्रतिनिधि र कर्मचारीका बिच पारदर्शी र मर्यादित समन्वय तथा सहकार्यलाई जोड दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, पालिकाले बनाएको कानुन र प्रदेश सरकारले निर्देशन गरे अनुसार नै पालिकामा कार्य सम्पादन हुने गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत कोइरालाका अनुसार जनताको माग र आवश्यकताको आधारमा काम भइरहेको छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व बिच कुनै टकराब छैन । कार्यपालिका र नगर सभा बैठक पनि सहज रूपमा सम्पन्न हुने गरेका छन् । हाम्रो नगर प्रमुख सहज हुनुहुन्छ । ‘जनताप्रति उत्तरदायी हुनुहुन्छ । हामीले समन्वयमा काम गरिरहेका हुन्छौ,’ उनेले भने, ‘देशकै उत्कृष्ट नगरपालिका बनाउन जनप्रतिनिधि र कर्मचारी मिलेर अघि बढेका छौँ ।’
स्थानीय सरकार जनताको सरकार हो । जनताको बोलीमा, घर आँगनमा पाइला पाइलामा स्थानीय सरकार हुन्छ । प्रत्येक दिन जनतासँग हामी जोडिनु पर्छ । ‘अहिलेसम्म मेरा नगरवासीले मलाई सघाइ रहनु भएको छ । कुनै बाधा अड्चन छैन,’ नगरप्रमुख महर्जनले भने, ‘जनप्रतिनिधि र नगरप्रमुख बिच राम्रो वातावरणमा काम भइरहेको छ । विकास योजनाका काम भएका छन् । विकास निर्माणमा एक जुट छौँ । बजेटमा पक्षपात हुँदैन । जनतामा विश्वास छ । यो विश्वासलाई हामीले धोखा दिने छैनौँ ।’
युवा लक्षित कार्यक्रम: गोदावरी नगरपालिका राष्ट्रिय खेलाडीले भरिएको नगरपालिका हो । यस कारण पनि पालिकाले खेलाडीलाई सम्मान गर्नुपर्छ भनेर सोच बनाएको छ । साथै खेलकुदको विकासका लागि पालिकाले विभिन्न खेल प्रतियोगिता पनि आयोजना गर्ने गरेको छ । यसै गरी मिनी रङ्गशालालाई पूर्णता दिने काम भएको छ ।
वडा अध्यक्ष बज्राचार्यका अनुसार नगरपालिकाले राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, सितेरियो कराँते प्रतियोगिता, मेयर कप प्रतियोगिता, नगरपालिका स्तरीय हाफ म्याराथन र विद्यालय स्तरीय म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।
नगरप्रमुखको सपना: गोदावरी धार्मिक, पर्यटकीय हिसाबले सम्भावना बोकेको क्षेत्र हो । यहाँ कृषिमा पनि सम्भावना उत्तिकै छ । काठमाडौँ उपत्यका भित्रै रहेर पनि गोदावरी नगरपालिका भौगोलिक रूपमा बिकट छ । जसले गर्दा सीमित श्रोत र साधनकावीच जनआकाक्षां परिपूर्ति गर्न निक्कै चुनौतीहरू छन् ।
स्वायत्त शासनको नीति अनुरूप स्थानीय सरकारले कम गर्न अझै पनि नीतिगत समस्याहरू विद्यमान छन् । तर पनि पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई सहज बनाउने योजना नगरप्रमुख गजेन्द्र महर्जनको छ । अनेकौँ समस्या र चुनौतीहरूका वाजजुत गोदावरी नगरपालिकाले आफूसँग भएको श्रोत साधन र सामर्थ्यलाई अधिकतम परिचालन गरी उत्कृष्ट नगरपालिका बन्न प्रयास गरिरहेको उनले बताए । ‘मेरो यो दोस्रो कार्यकाल हो । पहिलो कार्यकालमा पूरा हुन नसकेका कामलाई पूर्णता दिने काम भइरहेको छ,’ उनले भने, ‘पर्यटकीय हिसाबले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मेरो सपना छ । यही अनुसार काम गरिरहेको छु ।’