विराट गोल्डकप : आज विराटनगर सिटी र लुका सकर भिड्दै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विराट गोल्डकप : आज विराटनगर सिटी र लुका सकर भिड्दै


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन् ।

सहिद रङ्गशालामा फाइनल खेल साँझ ६:४५ बजे हुने छ । लुका सकर पहिलो पटक विराट गोल्डकपको फाइनलमा पुगेको हो । घरेलु टोली विराटनगर भने दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो । विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १-० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २-१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी विराट गोल्डकपमा पहिलो पटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४-२ गोलअन्तरले पाखा लगाउँदै फाइनलमा स्थान तय गरेको हो । विराटनगर छ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सह-संयोजक सुवाशिष कोइरालाले जानकारी दिनुभयो । विसं २०१८ मा ‘महेन्द्र गोल्डकप’का नामले सुरु भएको प्रतियोगिता २०५७ सालदेखि ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस