काठमाडौँ । सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र सञ्चालनका लागि छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका छन्।
आज सहकारी तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको दुई दिने सम्मेलनलाई सम्बोधन गर्दै घिमिरेले छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक रहेको बताएका हुन् ।
घिमिरेले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउन सरकारले बचत तथा ऋण सहकारीसँग सम्बन्धित ऐन ल्याउन जरुरी रहेको बताएका छन् ।
सम्बन्धित सरोकारवालाहरूले यस सम्बन्धी छुट्टै ऐनको व्यवस्था गर्न आवश्यक परामर्श र छलफल गरिरहेको बताउँदै उनले सम्बन्धी ऐनलाई संसद्बाट पास गर्न आफूले निष्पक्ष रूपमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । उनले ऐन निर्माणका लागि राजनीतिक दल र सरकारसँग आवश्यक परामर्श गर्न सुझाव दिए।
सभामुख घिमिरेले सहकारीमा वर्तमान अवस्थामा देखिएका समस्या र विगतका अनुभव समेटेर ऐन निर्माण हुनुपर्ने बताए। उनले सहकारी ऐनमा २५ लाख सीमा तोकिए पनि संसद्मा धेरै संशोधन प्रस्ताव आइरहेकाले थप सहयोग गरेर अघि बढ्न आफू तयार रहेको सुनाए।