३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमाउने घरमुलीको मृत्यु हुँदा आश्रित परिवारको सहारा बन्दै छ कोष

अ+ अ-

परिवारमा एकजना मात्र कमाउने व्यक्ति छ, परिवार उसैमाथि आश्रित छ र कुनै कारणले अचानक उसको मृत्यु भयो भने के होला ? यस्तो संकटमा पर्ने परिवारको भरोसा बन्न थालेको छ सामाजिक सुरक्षा कोष । 

काठमाडौँ । श्रीमानको कमाइमा घर चलेको थियो । परिवार खुसी थियो । असाध्यै ठूलो समस्या केही थिएन, समस्या आइलागे सजिलै पाखा लगाउने उपाय निस्किइहाल्थ्यो । समस्यासँग जुध्ने आँट थियो, किनभने श्रीमानको साथ र हौसला थियो । तर उनले कल्पनासम्म नगरेको समस्या आइलाग्यो । एक वर्ष अघि उनका श्रीमान् पिपल श्रेष्ठको असामयिक निधनका कारण काठमाडौँ, नयाँ बानेश्वरकी अनिता प्रधान श्रेष्ठको लागि ठूलो बज्रपात आइलाग्यो ।  

श्रीमान् गुमाउनुको पीडा एउटा श्रीमतीले मात्र अनुभूति गर्न सक्छन् । तर यो पीडा अनिताका लागि केबल भावनामा मात्र थिएन ।सबथोक थियो । उनका लागि अगाडिको जीवन नै अन्धकार बनेको थियो । परिवारको आर्थिक स्रोत र आधार भनेका श्रीमान् नै थिए । उनी नै नरहेपछि परिवारको आर्थिक मेरुदण्ड नै भाँचिए सरह भयो । जताततै अन्योल मात्र देखिन थाल्यो । 

अनिता र पिपलका दुई छोरा थिए । निजी संस्था ‘द लिप्रोसी मिसन नेपाल’ मा कार्यरत श्रीमान् पिपल श्रेष्ठको कमाइबाट नै घर चलेको थियो, छोराहरूको लालनपालन र पढाइलेखाइको स्रोत पनि श्रेष्ठको कमाई मात्र थियो । उनको निधनपछि घरमा कमाउने कोही भएन । सबै जिम्मेवारी अनिताको काँधमा आइलाग्यो । घरगृहस्थी सम्हालेर बसेकी अनिता बाहिरको कामकाजी थिइनन् । श्रीमानले नै सबै हेरिहाल्ने भएकाले उनलाई त्यसको आवश्यकता पनि परेको थिएन । त्यहीकारण बाहिर कतै काम गरेको अनुभव नै थिएन । अनिता परिवारको भविष्यलाई लिएर गहिरो चिन्तामा डुबिन् । 

कहिलेकाहीँ जीवनमा आइलागेका समस्याबाट पार पाउने कल्पनै नगरिएका उपाय पनि आउँदा रहेछन् । अनिताका लागि पनि यस्तै नसोचेको संयोग आइलाग्यो । चिन्तामा डुबेकै बेला उनले आर्थिक रूपमा राहत पाउने भइन् । त्यो राहत अरु केही नभएर सामाजिक सुरक्षा कोषले प्रदान गर्ने आश्रित परिवार योजना अन्तर्गतको सुविधा रहेछ । यो कुरा अनिताका लागि बिलकुलै अप्रत्याशित थियो ।

किनभने उनका श्रीमान् सरकारी जागिरमा नभई निजी क्षेत्रमा कार्यरत थिए । निजी क्षेत्रमा कार्यरत भएकाले श्रीमानको निधनपछि कम्पनीले केही सुविधा दिन्छ होला भन्ने उनलाई आशै थिएन । सामाजिक सुरक्षा कोषबारे त उनलाई थाहा पनि थिएन । जब थाहा पाइन्, उनको जीवनमा आइलागेको ठूलो संकट टरे झैँ भयो । श्रीमान् सामाजिक सुरक्षा कोषमा आबद्ध भएकै कारण उनको निधनपछि प्राप्त सहयोग अनितालाई परिवार चलाउने, छोराछोरी हुर्काउने र पढाउने उपाय बनेको छ । 

कोषबाट प्राप्त आश्रित परिवार बापतको सुविधाले छोराहरूको पढाई निर्बाध रूपमा अघि बढिरहेको छ । श्रीमान् सामाजिक सुरक्षा कोषमा सूचीकृत भएकै कारण अहिले अनिताले कोष मार्फत प्रदान गरिने सुविधा अन्तर्गत हिजो श्रीमानको तलबको ६० प्रतिशत रकम मासिक रूपमा पाइरहेकी छिन् । “यो मेरो लागि असाध्यै ठूलो कुरा भयो । सोच्दै नसोचेको कुरा भयो । घरगृहस्थीमै व्यस्त भएकाले कहिले कुनै रोजगारी गरिनँ, उहाँको निधनपछि मलाई घर कसरी चलाउने भन्ने चिन्ता थियो,” उनले भनिन्, “कोषले तलबको ६० प्रतिशत रकम मासिक रूपमा दिँदो रहेछ । त्यसबाट दैनिक खर्च चलाउन, छोराहरू पढाउन र अरु भइपरी आउने खर्च चलाउन पनि धेरै सजिलो भएको छ । कोषले सन्तति शैक्षिकवृति बापत तलबको ४० प्रतिशत रकम मासिक रूपमा उपलब्ध गराउनुका साथै कोषमा जम्मा भएको रकम ब्याज र प्रतिफल सहित फिर्ता दिँदो रहेछ ।” 

निजी क्षेत्रमा काम गर्ने श्रमिकहरूका लागि पनि सामाजिक सुरक्षा कोषले मासिक पेन्सनसहितका सुविधा दिन्छ भन्ने अनितालाई थाहै थिएन । अहिले त्यही कोषअन्तर्गत सेवा र सुविधा पाइरहँदा आफू जस्ता धेरै मानिसलाई सहज भएको प्रत्यक्ष अनुभव उनले गरेकी छन् । अनिताको यो कथा कुनै पनि श्रमिक सामाजिक सुरक्षाका योजनामा सहभागी हुने हो भने सङ्कटको घडीमा परिवारका लागि कति ठूलो भरोसा बन्छ भन्ने उदाहरण बनेको छ । 

मृत्युपछि परिवारलाई नै बाँच्ने आधार 
अझै पनि पर्याप्त प्रचारप्रसार हुन नसकेको र धेरैले विश्वास नगरिहालेको सामाजिक सुरक्षा कार्यक्रम पछिल्लो दशकमा सरकारले श्रमिकको हितका लागि ल्याएको सम्भवतः सबभन्दा राम्रो कार्यक्रम हो । यो कार्यक्रम अन्तर्गत कोषमा श्रमिक तथा रोजगारदाता दुवैले गर्ने योगदान नियमित रूपमा सञ्चित गरिन्छ । त्यो सञ्चित रकमबाट नै श्रमिकहरूलाई असहज परिस्थितिमा वित्तीय सुरक्षाको प्रत्याभूति दिने काम भइरहेको छ । यो योजना अन्तर्गत श्रमिकहरूले विभिन्न स्वास्थ्य उपचार सेवा, दुर्घटना बीमा, पेन्सन तथा आश्रित परिवार राहत लगायतका सुविधाहरू प्राप्त गर्छन् । 

अनिता यसलाई थप प्रष्ट पार्ने उदाहरण हुन् । उनका श्रीमानले आफू संस्थामा कार्यरत रहँदा सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निर्णय गरेकाले अहिले उनको परिवारलाई नै सङ्कटको सामना गर्न धेरै सजिलो भएको छ । कोषबाट प्राप्त सहयोगले छोराहरूको शिक्षामा सघाउ पुर्‍याउनुको साथै अनितालाई समग्र परिवारको आर्थिक व्यवस्थापनमा समेत धेरै ठूलो राहत मिलेको छ । 

नेपालमा अझै पनि धेरै श्रमिक यो योजनाबाट बाहिर छन् । विशेष गरी असंगठित वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत श्रमिकहरू यसको पहुँच बाहिर रहेका छन् । कतिपयले त यो कार्यक्रमको विश्वास नगरेकाले पनि यसको दायरा बाहिरै छन् । सरकारले पहुँच नभएकाहरूलाई पहुँच विस्तार गर्दै, पहुँचमा भए पनि विश्वास नभएकाहरूलाई विश्वासमा लिँदै कोषमा अनिवार्य सहभागिता नीति लागू गरेमा श्रमिक परिवारहरूले समेत आर्थिक अस्थिरताबाट जोगिन उपाय भेटाउनेछन् । 

अनिता भन्छिन्, “श्रीमान् जीवित हुँदा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु भएकोले नै आज मेरा छोराहरू सहज रूपमा पढ्न पाएका छन् । मेरो घरको दैनिकी सहजै चलेको छ । यो योजनाले धेरै नेपाली श्रमिक परिवारलाई आर्थिक सञ्जीवनी प्रदान गरिरहेको छ ।”  

यसका भुक्तभोगी अनिता जस्ता धेरै छन् । जस्तो, केही वर्षअघि धनकुटाकी यज्ञ कुमारी भुजेलको मृत्युवरण पश्चात् परिवार शोकमा मात्र डुबेन, अरु धेरै कुरा खलबलिए । तर एउटा कारणले उनको परिवार बिस्तारै लयमा फर्किन पायो । त्यो कारण सामाजिक सुरक्षा कोषसँगै जोडिएको छ ।

यज्ञ कुमारी धनकुटाको टी गार्डेनमा काम गर्थिन् । ३५ वर्षीया उनले चिया बगानमा काम गर्न थालेको लामो समय भइसकेको थियो । त्यही क्रममा उनी २०७७ सालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएकी थिइन् । चिया बगानमा काम गर्दा कम्पनीले नै उनलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको थियो । चिया बगानका इमान्दार श्रमिकमध्ये पर्ने यज्ञ कुमारीले मासिक रूपमा पाउने तलबबाट निश्चित प्रतिशत कट्टा गरेर कोषमा जम्मा गर्दै आएकी थिइन् । केही रकम कम्पनीले नै जम्मा गरिदिन्थ्यो । कोषमा निरन्तर योगदान गरिरहेकै बेला असामयिक मृत्युवरण गरेकी यज्ञ कुमारीको कोषमा आबद्ध हुने यही निर्णय उनको मृत्युपछि परिवारका लागि सहारा बनेको छ । उनको निधनपछि कोषबाट प्राप्त मासिक पेन्सन सहितका सुविधाबाट नै उनको परिवारलाई आर्थिक गर्जो टार्ने उपाय भएको छ ।

यज्ञ कुमारीका दुई छोरी र श्रीमान् थिए । निम्न मध्यम वर्गीय परिवार, घर चलाउन र छोरीहरू हुर्काउँदै पढाउन सजिलो थिएन । काम जति गरे पनि परिवारमा आर्थिक संकटले गर्दा बिहान बेलुकाको छाक टार्न पनि गाह्रो थियो । यज्ञ कुमारीको कमाइले नै घर परिवार चल्दै आएको थियो । जसोतसो घर धानिएको त थियो, तर बालबच्चा पढाउन र अरु भइपरी आउने खर्चको जोहो गर्नका लागि उनले ऋण लिएकी थिइन् । घर खर्च चलाउन गाह्रो भएपछि उनका श्रीमान् पनि वैदेशिक रोजगारमा गएका थिए । लिएको ऋण तिर्न नसकेको र भोगिरहेको आर्थिक समस्यासँग जुध्न गाह्रो भएपछि यज्ञ कुमारी मृत्युवरणको बाटो रोजेको उनका नजिकका आफन्त बताउँछन् । 

पछिल्लो समय आर्थिक अभाव र दबाब व्यवस्थापन गर्न नसक्नेको संख्या बढिरहेको आँकडाले देखाउँछ । प्राय: निजी कम्पनीमा काम गर्नेहरू तुलनात्मक हिसाबले धेरै आर्थिक दबाबमा पर्ने गरेको र अन्य विकल्प रोज्ने गरेका तथ्याङ्कहरूमा पाइन्छ । यज्ञ कुमारी तिनैमध्ये थिइन् ।

तर सामाजिक सुरक्षा कोषले प्रदान गर्ने आश्रित परिवार सुविधा योजना अन्तर्गत परिवारले आर्थिक सहायता पाएपछि उनको परिवारलाई ठूलो राहत भएको छ । कोषले मासिक रूपमा  सन्तति शैक्षिक वृत्ति उपलब्ध गराउने भएको कारण आमाको मृत्युपछि अहिले उनका दुई छोरीहरूको पढाइ रोकिने अवस्था आएन । यज्ञ कुमारीकी सासू भन्छिन्, “बुहारी गएपछि अब सबैको बिचल्ली हुने भयो भन्ने लागेको थियो । सामाजिक सुरक्षा कोष त धेरै राम्रो कुरा रहेछ, कोषले दिएको सुविधाले धेरै राहत भएको छ ।” 

यज्ञ कुमारीका छोरीहरू सामाजिक सुरक्षा कोषले प्रदान गर्ने सुविधासँगै आफ्नो पढाइ अगाडि बढाउन पाउँदा खुसी छन् । “हामीलाई आमाले छोडेर जानुभयो, तर उहाँले हामीलाई सुरक्षित भविष्यको लागि योगदान गरेर जानुभएको रहेछ । कोषबाट पाइरहेको सुविधाले पढाइ अगाडि बढाउन पाइरहेका छौँ, यो ठूलो कुरा हो,” उनकी छोरी कृतिका भुजेल भन्छिन् । 

यज्ञ कुमारीको मृत्यु हुँदा परिवारमा अन्तिम संस्कार खर्च गर्ने रकमसमेत थिएन । सामाजिक सुरक्षा कोषले नै अन्तिम संस्कार बापतको रकम पनि उपलब्ध गरायो । यसले गर्दा उनको अन्तिम संस्कारमा पनि कुनै व्यवधान नआएको सासू  बताउँछिन् । “परिवारमा अभावै अभाव थियो, त्यहीबेला बुहारीको मृत्यु भएपछि समस्या माथि समस्या थपियो । तर सामाजिक सुरक्षा कोषले गर्दा धेरै नै राहत मिल्यो,” उनले भनिन् । 

भविष्यको सुरक्षा 
नेपालमा अझै पनि धेरै श्रमिक सामाजिक सुरक्षा कोषको दायरामा आएका छैनन् । यज्ञ कुमारी भुजेल र अनिता प्रधान श्रेष्ठको परिवारले कोषबाट पाएको राहत श्रमिकहरूले कोषमा योगदान गर्दा कति ठूलो काम गर्छ भन्ने उदाहरण हो । 

सामाजिक सुरक्षा कोषका अनुसार अहिलेसम्म करिब २२ लाख श्रमिक कोषमा आबद्ध भएका छन् । सरकारले यो योजना अझ प्रभावकारी रूपमा लागु गरी धेरै श्रमिकलाई आकर्षित गर्ने रणनीति बनाएर त्यो अनुसार योजना पनि तर्जुमा गरिरहेको छ । 

लाखौँ श्रमिक निजी क्षेत्रमा कार्यरत भए पनि उनीहरूमध्ये धेरैजसो अहिले पनि असुरक्षित भविष्यको डरैडरमा बाँचिरहेका छन्। उनीहरूलाई भविष्यमा आइपर्ने समस्या र चिन्ताबाट जोगाउने अचुक उपाय खासमा सामाजिक सुरक्षा कोष नै हो जो श्रमिकहरूको सशक्तीकरणका लागि महत्त्वपूर्ण साधन बन्न थालेको छ । आर्थिक सुरक्षादेखि स्वास्थ्य सुविधासम्मका योजनाहरूले श्रमिकहरूलाई आत्मनिर्भर बन्न समेत सघाइरहेका छन् । 

औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूका लागि सामाजिक सुरक्षा कोष जीवन रक्षा, भविष्यको आर्थिक सुरक्षाका लागि भरथेग गर्ने उपाय नै बनेको छ । कोषमार्फत श्रमिकहरूलाई उपचार खर्च र आश्रित परिवार लगायतका सुविधा मात्र होइन, बुढेसकालमा पेन्सन, मातृत्व सुविधासहितका अरु सुविधा पनि प्रदान गर्दै आएको छ । 

सामाजिक सुरक्षा कोषका सह–प्रवक्ता केदारनाथ ज्ञवाली भन्छन्, “हामीले कोषले प्रदान गर्ने औषधि, उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता, आश्रित परिवार, वृद्धावस्था सुरक्षा योजना सहितका ऋण तथा सापटी लगायतका विषयहरूलाई केन्द्रिय कार्यालयका अतिरिक्त शाखा तथा सम्पर्क कार्यालयबाट छिटो छरितो रूपमा सेवा प्रवाह गर्ने गरी आवश्यक संयन्त्र निर्माण गर्न लागिरहेको र कोषको सेवा प्रवाह अनलाइन प्रविधिमा आधारित रहेको र यसको प्रभावकारी कार्यान्वयनका लागि सेवालाई अझै विस्तार गर्दै लैजानेतर्फ विशेष ध्यान दिँदै आएका छौँ । कोषमा लामो समयसम्म योगदान गर्ने श्रमिकका परिवारलाई थप सुविधाहरू पनि प्रदान गरिरहेका छौँ । संशोधित व्यवस्थाले थप सविधाहरू योगदानकर्तामैत्री बनाउँदै लगेको र अनौपचारिक क्षेत्रमा समेत कोषका योजनाले आकर्षण बढाउँदै लगेको छ यसलाई अझै विस्तार गर्दै लैजाने तर्फ कोष प्रयत्नशील छ ।”

महिलालाई विशेष सुविधा
कोषले स्थापनाकालदेखि नै श्रमिकहरूलाई लक्षित गरी विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ । त्यसमा पनि महिला लक्षित सुविधा विशेष छन्। जस्तो, कोषले महिलाका लागि मातृत्व तथा स्वास्थ्य सुरक्षा योजना लागू गरेको छ । यसअन्तर्गत गर्भवती महिलाहरूले प्रसूति खर्च, प्रसूति स्याहार, प्रसूति बिदा र नवजात शिशुको स्वास्थ्य उपचारका लागि समेत आर्थिक सहयोग प्राप्त गरिरहेका छन् ।  

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार महिलाका लागि प्रसुती स्याहार बापत प्रति शिशु एक महिनाको न्यूनतम पारिश्रमिक, योगदानकर्तालाई बढीमा ३८ दिनसम्म निजको आधारभुत पारिश्रमिकको साठी प्रतिशत प्रसूति बिदा बापतको रकमका साथै प्रसूति खर्च सहितका अन्य सुविधा समेत कोषले प्रदान गर्दै आइरहेको छ । 

यस्तै, लामो समयसम्म कार्यरत श्रमिकहरूले वृद्धावस्था सुरक्षा योजना अन्तर्गत कोषले प्रदान गर्ने मासिक पेन्सन सहित बुढ्यौलीमा आर्थिक सुरक्षाको ग्यारेन्टी समेत पाउने अधिकारीले बताए । उनका अनुसार कोषमा आबद्ध भएका योगदानकर्ताको परिवारले समेत यो सुविधा पाउँछन् । अहिले धेरैले यो सेवा पाइरहेका छन् ।  

पेन्सन भन्नासाथै सरकारी जागिर भन्ने बुझिन्छ । निजी क्षेत्रमा काम गर्नेका लागि पेन्सन पाउने कुरै हुँदैनथ्यो, केही वर्ष अघिसम्म । सामाजिक सुरक्षा कोष अन्तर्गत निजी क्षेत्रमा काम गर्ने श्रमिकका लागि पनि पेन्सनको सुविधा व्यवस्था गरिएको छ । त्यस्तै, रोजगारी गुम्दा बेरोजगारी भत्ता, दुर्घटना तथा आकस्मिक बीमा योजना, काम गर्ने क्रममा दुर्घटना भइहालेमा उपचार खर्च कोषले बेहोर्ने व्यवस्था भएको छ ।

तुलनात्मक हिसाबले अहिले सामाजिक सुरक्षा कोषप्रति धेरै श्रमिकको भरोसा बढ्दै गइरहेको छ। आम श्रमिकको  बुझाइ बदलिएको छ। धेरै योगदानकर्ताले कोषका सुविधाहरू उपभोग गर्न थालिसक्नुभएको र  कोषको बारेमा बुझ्ने र बुझाउने क्रम निरन्तर जारी रहेको कोषका कार्यकारी निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार यो कोष अवकाशपछिको लागि नभई जीउ, धनको सुरक्षा गर्ने सुरक्षा कवच पनि हो । सामाजिक सुरक्षा कोष सरकारको पनि विशेष प्राथमिकतामा परेकाले कार्यान्वयनका सिलसिलामा परेका जटिलताहरू समाधान गर्दै २२ लाख श्रमिक विभिन्न क्षेत्र अन्तर्गत समेट्न सफल भएको छ । 

श्रमिकको अझ बढी सहभागिता सुनिश्चित गर्न कोषले श्रमिकका लागि विशेष सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ । ग्रामीण क्षेत्रमा कार्यरत श्रमिक महिलालाई सरल प्रक्रियाबाट कोषमा आबद्ध गराउन र महिला उद्यमशीलता प्रवर्द्धन गर्न विशेष कार्यक्रम ल्याउन सके कोष मार्फत प्रदान गरिने सुविधाहरू थप प्रभावकारी हुने कार्यकारी निर्देशक अधिकारी बताउँछन् ।

सामाजिक सुरक्षा कोषको महत्त्व अब सरकारी नीति कार्यान्वयनको विषय मात्र रहेन । यो श्रमिकहरूको आर्थिक सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको जीवनोपयोगी प्रणाली बनिसकेको छ । कोषमा गरिएको योगदानले कठिन घडीमा आर्थिक तनाव कम गर्न मात्र होइन, श्रमिक र उनका परिवारलाई सुरक्षित भविष्य सुनिश्चित गर्न पनि मद्दत गरिरहेको छ ।

श्रमिकहरूले सामाजिक सुरक्षा कोषलाई आफ्नो नियमित जीवनशैलीकै एक महत्त्वपूर्ण हिस्सा बनाउने परिपाटी विकास गर्न सक्ने हो भने आकस्मिक स्वास्थ्य समस्या, रोजगारी गुमाउने अवस्था वा अन्य वित्तीय सङ्कटको घडीमा समेत ठूलो राहत प्राप्त गर्न सक्छन्। 

प्रतिक्रिया दिनुहोस