काठमाडौँ । नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको इतिहासमा पहिलो पटक महिला चालक दलको समूहले ककपिट सम्हालेको छ । शनिबार नेपाल एयरलाइन्सको न्यारोबडी ए ३२० जहाज काठमाडौँ-दुबई रुटको उडान गरेको छ । दुवै जना महिला पाइलटको कन्ट्रोलमा यो जहाज थियो । पाइलट भावना पन्त र को-पाइलट सृजना रावतले यो सफल उडान गरी इतिहास रचेका हुन् ।
नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार अन्तर्राष्ट्रिय उडानमा महिलाले रचेको यो नयाँ इतिहास हो ।
नेवानिका अर्का पाइलट दीपु ज्वार्चनका अनुसार आन्तरिक उडानमा कैयौँ पटक यस्तो संयोग जुरेको छ, तर अन्तर्राष्ट्रिय उडानमा जुरेको थिएन । यही जोडीले दुबईबाट अर्को उडान काठमाडौँका लागि पनि गर्दैछ ।
नेपाल एयरलाइन्सले ८ मार्च ९अन्तर्राष्ट्रिय महिला दिवस०को दिन सबै क्रु मेम्बर महिला राखेर उडानको तयारी समेत गरिरहेको छ । तर, यो अझै तयारीकै क्रममा रहेका कारण निश्चित भने नभएको प्रवक्ता खड्काले जानकारी दिइन् ।
यता राष्ट्रिय ध्वजाबाहक नेवानिको जहाज कमाण्ड गरी दुबई पुर्याएर इतिहास बनाएका महिला पाइलटहरूलाई गैर आवासीय नेपाली सङ्घले स्वागत गरेको छ ।