१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन महानगर निर्देशन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१० दिनभित्र सम्पदा क्षेत्रका अव्यवस्थित तार हटाउन महानगर निर्देशन 


१७ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । ललितपुर महानगरले सम्पदा क्षेत्रका अव्यवस्थित तार १० दिन भित्र हटाउन निर्देशन दिएको छ । जथाभावी टाँगिएका तारले सहरको सुन्दरता बिगारेको भन्दै सरोकारवालालाई अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

ललितपुर महानगरले आयोजना गरेको तार व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालालाई त्यस्तो निर्देशन दिएको महानगरले जनाएको छ । नगर प्रमुख चिरिबाबु महर्जनले पहिलो चरण अन्तर्गत महानगरको सम्पदा क्षेत्रका तार १० दिनभित्र हटाउन निर्देशन दिए । अशोक स्तुपा, कुम्भेश्वर मन्दिर परिसर, पाटन दरबार र रातो मछिन्द्रनाथको रथ निर्माण गरिने ठाउँ पुल्चोकस्थित रथखेल क्षेत्रमा टाँगिएका अव्यवस्थित तार हटाउन महानगरले निर्देशन दिएको हो ।

तार हटाउन इन्टरनेट सर्भिस प्रोभाइडर  एसोसिएसन (आईएसपीए)लाई ललितपुर महानगरले जिम्मा दिएको छ । उक्त कार्यका लागि आईएसपीएलाई ललितपुर महानगरले आवश्यक सहयोग गर्ने महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

सम्पदाको सहर ललितपुरको साख जोगाउन अन्य सरोकारवाला निकायसँग पनि सहकार्य गरिने उनले बताए ।

नगर प्रमुख महर्जनले गुजुल्टिएको तारमा आगो लागेको घटना धेरै सुनेको बताउँदै नगर र नगरबासीको सुरक्षाका लागि पनि अव्यवस्थित तार तत्काल हटाउनु पर्ने बताए । अव्यवस्थित तारका कारण सहर कुरूप बनेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस