आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौँ : मन्त्री गिरी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौँ : मन्त्री गिरी


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम शुरु गरेको बताएका छन् । सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको दाबी गर्दै स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको बताए । स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भए पनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू फर्किँदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको बताए । उनले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताए ।

उनले भने, ‘नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्ने गरी काम गर्दैछौँ । म स्वास्थ्य क्षेत्र रोजेर आएको हो । अझै यो आकर्षण मन्त्रालय मानिँदैन । यहाँ हत्तपत्त कोही जान पनि तयार हुँदैन । आउँदा अत्यन्तै स्वच्छ छवि भएर मन्त्री आउँछन् जाँदा कालो दाग, धब्बा लागेर फर्किन्छन्, गल्ती नगर्दा पनि आरोप खेपेर फर्किने ठाउँ हो । तर पनि फोहोर सफा गर्न फोहोर भित्र पस्नुपर्छ । त्यो बुझेरै म यहाँ आएको हुँ । मेरो नेतृत्वले मलाई रोजाएर जिम्मेवारी दिएको हो । कालो चिया पनि मेरो गोजीबाट खाएर स्वास्थ्य क्षेत्रको परिवर्तन गर्छु भन्ने सङ्कल्पका साथ आएको हुँ । काहीँबाट मेरो मन्त्रीको नाममा ब्ल्याकमेलिङ गरेको छ भने कसैले धन्दा गरेको छ भने कानमा सुनाइदिनुहोला, त्यस्ता धन्दा गर्नेलाई तत्काल कारबाही गर्नेछु ।’

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तिमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारी अनुसार काम भइरहेको बताए । उनले अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरू समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको बताए । मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छुट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने बताए । उनले सातै प्रदेशमा डायलसिस सेवाका लागि प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताए। मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलसिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस