काभ्रेमा १९ भूमिहीनलाई लालपुर्जा दिने तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काभ्रेमा १९ भूमिहीनलाई लालपुर्जा दिने तयारी


१५ फाल्गुन २०७९, सोमबार


काभ्रे । काभ्रेपलाञ्चोकको १९ जना भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको छ ।

जिल्लास्थित राष्ट्रिय भूमि आयोगको कार्यालयको सिफारिसमा २७ वर्षअघि निर्णय गरिएकामध्ये बाँकी १९ परिवारलाई लालपुर्जा दिइने भएको हो । आयोगको तत्कालीन काभ्रेपलाञ्चोक–सिन्धुपाल्चोक जिल्ला समितिको धुलिखेलस्थित कार्यालयले विसं २०५२ मा गरेको निर्णयका आधारमा १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा दिने तयारी गरिएको आयोगका जिल्ला सदस्य रामबहादुर तामाङले जानकारी दिए । उनका अनुसार तत्कालीन समयमा निर्णय गरिएका एक सय २७ भूमिहीन परिवारलाई यसअघि नै लालपुर्जा दिइसकिएको छ ।

हाल बाँकी रहेका १९ परिवारलाई निर्णयअनुसार लालपुर्जा दिन मालपोत कार्यालयले श्रेस्ता भिडाउने काम गरिरहेको छ । कार्यालयले १९ मध्ये छ जनाको जमिनको श्रेस्ताबारे आयोगको कार्यालयसँग थप कागजात मागेको उनले बताए । ‘सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ, केही हप्ताभित्र जिल्लाका १९ भूमिहीन परिवारलाई जमिनको लालपुर्जा प्रदान गर्दछौँ’, उनले भने ।

काभ्रेका भूमिहीन परिवारले विसं २०५२ मा गरेको निर्णयका आधारमा दिइएको परिमाणको जमिन भोगचलन गर्दै आएका थिए । ‘म २०५२ सालदेखि मलाई दिने भनिएको १९ रोपनी जमिनमा घरसमेत बनाई भोगचलन गर्दै आएको छु, अहिले लालपुर्जा पाउने आशामा बसेको छु’, मण्डनदेउपुर नगरपालिका–४ का सङ्गेसिं तामाङले भने ।

सरकारले आयोगलाई भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणीकरणको आधार र मापदण्ड तोक्ने, स्थानीय तहबाट लगत सङ्कलनको लागि आवश्यक कार्यविधि र ढाँचा तयार गरी स्वीकृत गर्ने, तिनको पहिचान, लगत सङ्कलन र प्रमाणीकरणको काम स्थानीयमार्फत गर्ने, सम्बन्धित मालपोत कार्यालयसँग समन्वय गरी सम्बन्धित नापी कार्यालयबाट जग्गा नाप जाँच गरी नक्सा श्रेस्ता तयार गर्ने गराउने अधिकार दिएको छ ।

सरकारले करिब तीन दशकअघि आयोग गठन गरेको थियो । सरकारले आयोगमार्फत पटक पटक भूमिहीनबारे लगत सङ्कलन कार्यको आह्वान गरेपछि काभ्रेपलाञ्चोकको छ नगर र सात गाउँपालिकाका करिब तीन हजारले जिल्लास्थित आयोगको कार्यालयबाट फारम लगेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस