रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

रेसुङ्गा विमानस्थलमा नियमित उडान हुने


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । गुल्मीको नयाँ विमानस्थल रेसुङ्गामा नियमित उडान हुने भएको छ । आगामी बुधबार नेपाल वायुसेवा निगमको ट्विनअटर जहाजले प्रुभिङ उडान गर्ने र त्यसपछि नियमित उडान गर्ने गरी सम्झौता भएको छ ।

रेसुङ्गा नगरपालिका र नेपाल एयरलाइन्सबीच भएको सम्झौता अनुसार प्रति/उडान अवतरण कुल सिट क्षमताको ३० प्रतिशत रेसुङ्गा नगरपालिकाले यात्रु ग्यारेन्टी गर्ने र अन्य व्यवस्थापन निगमले मिलाउने गरी सम्झौता भएको छ । सोही अनुसार बुधबार निगमले व्यावसायिक ‘प्रुभिङ’ उडान गर्ने छ ।

त्यसपछि हरेक सोमबार साताको एक दिन नियमित उडान हुने गरी सम्झौता भएको छ । निगमका अनुसार गुल्मी जाँदा निगमको ट्विनअटर जहाजले १४ जना यात्रु बोक्न सक्छ । बाँकी लोड पेनाल्टीका कारण सिट खाली गरेर उड्नुपर्छ । फर्कँदा इन्धन खपत भइसक्ने भएकाले थप दुई सिट अर्थात् १६ सिटमा यात्रु बोक्न सक्छ । यस अनुसार प्रति-उडान/अवतरण कुल ३० सिट क्षमता हुनेछ । यसमध्ये १० सिटको ग्यारेन्टी रेसुङ्गा नगरपालिकाले गरेको हो ।

काठमाडौँबाट करिब १ घण्टाको दुरीमा रेसुङ्गा विमानस्थल पुग्न सकिन्छ । नियमित उडान जारी रहेमा गुल्मीका यात्रुको अभाव नहुने अपेक्षा गरिएको छ । त्यसपछि निजी क्षेत्रका वायुसेवा कम्पनीसमेत आकर्षित हुन सक्ने अपेक्षा छ । निगमलाई यसअघि तारा एयरले गरेको परीक्षण उडानको प्रतिवेदन समेत बुझाइएको छ । ताराले यहाँ २४ पुसमा परीक्षण उडान गरेको थियो । सफल परीक्षण उडानपछि ताराले समेत यहाँ उडानको तयारी गरेको थियो । तर, पोखरामा यतीको जहाज दुर्घटना भएपछि कम्पनीले आफ्नो योजना पछाडि धकेलेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस