सहकारी बैंक होइन, सहकारी जस्तै गरी चल्नुपर्छ : पूर्व सचिव मैनाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सहकारी बैंक होइन, सहकारी जस्तै गरी चल्नुपर्छ : पूर्व सचिव मैनाली


१४ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । पूर्व सचिव गोपीनाथ मैनालीले सहकारी सङ्घ संस्थाहरूले बैंक सरह, बैंककै प्रतिस्पर्धामा आर्थिक कारोबार गर्दा समस्या आएको बताएका छन् । आइतबार राजधानीमा आयोजित सहकारीमा सङ्कट : कारण र समाधान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सचिव मैनालीले यस्तो बताएका हुन् ।

‘सहकारीहरू ऐन, नियमअनुसार काम गर्ने हो, चल्ने हो भने समस्या नै आउँदैन । तर अहिले अधिकांश सहकारी सङ्घ संस्थाहरू स्वनियमन स्वतन्त्रताका नाममा आफू खुसी चले । बैंक सरह कारोबार खोजे जसले गर्दा अहिले समस्या आयो’ मैनालीले भने, ‘सहकारी बैङ्क होइन, सहकारी सहकारी जस्तै गरी चल्नुपर्छ ।’

मैनालीले थपे, ‘बढी समस्या नीति निर्माण तहमा हुने, कानुन नै तल-माथि गर्न सक्ने व्यक्ति सञ्चालक र सिइओ भएको संस्थामा छ । नीति-नियम मानेर, घर-जग्गामा लगानी नगरेका भए समस्या आउने थिएन ।’

सोही अवसरमा पूर्व सचिव मैनालीले कम्पनीका सञ्चालक नै सहकारीको सञ्चालक हुने र सहकारीको पैसा कम्पनीमा लगानी गर्ने गरेका कारण पनि सहकारीमा समस्या बढेको बताए । उनले कम्पनीका सञ्चालकलाई सहकारीबाट तत्काल निकाल्न समेत आग्रह गरे ।

सहकारीले दिने लाभांश सरकारको ऋणपत्र अनुसार हुने व्यवस्था गर्न पनि उनले सुझाव दिए । लाभांशमा कडाइ गर्ने हो भने पनि समस्या समाधानमा सहयोग पुग्ने मैनालीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस