एमालेले भन्यो-प्रदेशको नाम नहुँदा लज्जाबोध भयो, शिर निहुरियो  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एमालेले भन्यो-प्रदेशको नाम नहुँदा लज्जाबोध भयो, शिर निहुरियो 


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । प्रदेश १ प्रदेश सभामा शुक्रबार विशेष समय लिएर बोल्दै नेकपा एमालेले यही अधिवेशनबाट प्रदेशको नामकरण गर्नुपर्नेमा जोड दिएको छ । प्रदेश १ भौगोलिक सङ्घीयताको परिकल्पनाबाट निर्मित प्रदेश भएको जिकिर गर्दै उसले सोही अनुसारको नामकरण हुनुपर्ने दाबी गरेको हो ।

विशेष समयमा बोल्दै नेकपा एमालेका सांसद चिन्तन पाठकले सांसदको शपथ खाएको २ महिना कटिसकेको भन्दै अन्य ६ वटा प्रदेशले नाम पाउँदा आफ्नो प्रदेशले पहिचान नै पाउन नसकेकोमा लज्जाबोध भएको बताए ।

प्रदेशसभा सदस्यलाई लोगोले समेत जिस्क्याइरहेको उनको भनाइ छ । ‘जनताले हामीलाई प्रश्न उठाएका छन्– नाम राख्न नसक्नेले के गर्लान् भनेर,’ उनले भने, ‘म प्रदेशसभाको सत्तारुढ पार्टीको सांसद लज्जाले शिर निहुरिरहेको छ ।’

उनले प्रदेश १ मा प्राकृतिक विविधता तथा जातीय र सांस्कृतिक विविधता रहेको भन्दै प्रदेशको नामकरण भने भूगोलको आधारमा हुनुपर्ने घुमाउरो तर्क गरे ।  उनले यही अधिवेशनबाट प्रदेश नामकरण हुनुपर्ने माग पनि गरे ।

प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस सांसद शम्शेर राईले चिया खेतीको विषयमा प्रदेश सरकारको ध्यान जान नसकेको बताए । उनले एक आर्थिक वर्षमा ४ अर्ब पैसा विदेशबाट ल्याउने चिया खेतीमा विभिन्न समस्या रहेको बताए ।

प्रदेशसभाको शुक्रबारको बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेशलाई  प्रतिस्थापन गर्न बनेको विधेयक पारित गरेको छ । अर्को बैठक १७ गते बस्नेछ । 

Tags :
प्रतिक्रिया दिनुहोस