प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१२ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत र नगर उप-प्रमुखसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

मुगुस्थित छायाँनाथ रारा नगरपालिका-११ मा स्वास्थ्य चौकीमा ग्याविन पर्खाल निर्माण गर्दा नक्कली विल भरपाई बनाई रकम हिनामिना गरेको आरोपमा ११ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । 

उक्त कार्यमा संलग्न छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर पदम बहादुर बुढा, सब–ओभरसियर गड बहादुर बुढा, छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर उप-प्रमुख तथा अनुगमन समितिका संयोजक सुन्तला रोकाया, उक्त नगरपालिका १३ नम्बर वडाका तत्कालीन अध्यक्ष तथा अनुगमन समितिका सदस्य चक्र बहादुर सावत, तत्कालीन कार्यपालिकाका सदस्य तथा अनुगमन समितिका सदस्यहरू हजरकला कामी र हरिनी नेपाली विरुद्ध शुक्रबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । 

आयोगले मल्ल र बुढाद्वयलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ ६२ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१)  बमोजिम कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर गर्न मागदाबी लिएको छ।

त्यसैगरी अयोगले रोकाया, सावत, कामी र नेपालीविरुच हुँदै नभएको कार्यलाई निर्माण सम्पन्न भएको भनी गलत अनुगमन प्रतिवेदन प्रतिवेदन पेश गरी ७ लाख ५७ हजार तीन सय सात रुपैयाँ बैसठ्ठी पैसा रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को  उपदफा (२) बमोजिम कैद र जरिवाना गर्न मागदाबी गरेको छ । 

छायाँनाथ रारा नगरपालिका, ११ नम्बर वडाका तत्कालीन वडा अध्यक्ष बुढाले नभए नगरेका कुरा देखाई गलत सिफारिस गरी रकम भुक्तानी लिने दिने कार्य गरी उक्त रकम बराबर रकम हिनामिना गरी नेपाल सरकारलाई हानि नोक्सानी गरेको आरोप आयोगको छ । आयोगले उनी विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३)  बमोजिम कैद र बिगो बमोजिम जरिवाना गर्न मागदावी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस