काठमाडौँ । नेपाली काँग्रेसले संसदमा प्रस्तुत हुने विशेष विधेयकहरूमा छलफल गर्नुअघि आफ्ना सांसदहरुलाई विषय विज्ञ बोलाएर जानकारी गराउने भएको छ । शुक्रवार काँग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा विशेष विधेयकका बारेमा संसदमा बोल्नका लागि सांसदहरुलाई तयारी स्वरूप विषय विज्ञहरू बोलाएर विधेयकबारे जनकारी गराउने भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसद उदयशमशेर राणाले संसदमा पेस हुने कतिपय विधेयकहरू प्राविधिक विषयका हुने र त्यसबारेमा सांसदहरु अनविज्ञ हुने भएकाले सांसदमा बोल्नुअघि विषयका बारेमा जानकारी गराउने उद्देश्यले सो व्यवस्था गरिएको बताए ।
उनले भने, ‘कतिपय प्राविधिक विधेयकहरू संसदमा पेस हुन्छन्, त्यसमा सांसदहरूले पढेर मात्रै सबै कुरा बुझ्न गाह्रो हुन्छ कि, त्यो विषयमा अध्ययन गरेको मानिस हुनुपर्छ, नत्र चाहेर पनि बुझ्न गाह्रो हुने भएको कारणले र सांसदहरूले बोल्दा पनि प्रभावकारी बनाउनको लागि प्रमुख सचेतक रमेश लेखकले महत्त्वपूर्ण विधेयकहरूमा कानुनविद्हरू ल्याएर त्यसको बारेमा बुझाएर र संसदमा बोल्न र तयारी गर्नका लागि व्यवस्था गरिदिनुभएको छ । यसले हाम्रो पार्टीका सांसदहरूको संसदमा प्रस्तुति प्रभावकारी हुनेछ ।’
त्यस्तै नेपाली काँग्रेसबाट राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले नेपाली काँग्रेस संसदीय दलले विशेष प्रकारका विधेयकहरूमा सबै सांसदहरुलाई राखेर छलफल गर्ने कुरा प्रारम्भ गरेको बताए । उनले बैठकमा सम्पत्ति शुद्धीकरणको विधेयकका बारेमा पनि छलफल भएको बताए ।