बर्डफ्लु भेटिएपछि भक्तपुरमा १० हजार कुखुरा नष्ट « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

बर्डफ्लु भेटिएपछि भक्तपुरमा १० हजार कुखुरा नष्ट


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । भक्तपुरका तीन वटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ।

चाँगुनारायण नगरपालिका-८ सुडालस्थित कुखुरा फार्ममा बर्डफ्लु भेटिएको हो। बर्डफ्लु भेटिएपछि कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ।

सुडालस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ। विभागका अनुसार सुडालमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एन्ड ह्याचरी उद्योग प्रालि, अर्जुन गिरी पोल्ट्री फार्म र आदित्य पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु भेटिएको हो।

फार्ममा पालिएका कुखुरा धमाधम मर्न थालेपछि गरिएको परीक्षणमा तीन वटै फार्मका कुखुरामा बर्डफ्लु भेटिएको पशु विभागका चिकित्सक डा. श्रीजा वाग्लेले बताए। कुखुरामा बर्डफ्लु भेटिएपछि बुधबार पशु चिकित्सक वाग्ले, पशु सेवा विभागका प्राविधिक आत्माराम शर्मा, चाँगुनारायण-८ का वडाध्यक्ष जनक खत्री, चाँगुनारायण नगरपालिका पशुपन्छी सेवा विकास शाखाका कर्मचारी र प्रहरीको टोली खटिएर फार्मका रहेका कुखुरा नष्ट गरिएको छ।

तीनवटै फार्ममा रहेका १० हजार ४८० वटा कुखुरा, एक हजार ५० कुखुराका चल्ला, चार हजार ५२३ वटा अण्डा र एक हजार ४७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस