काँग्रेसद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

काँग्रेसद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ।

राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै बिहीबारका लागि नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनै लाग्दा यति बेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ।

यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार सत्ता गठबन्धनको तर्फबाट एमालेको भागमा परे पनि प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपतिको उम्मेदवार चुन्नुपर्ने बताएपछि दौडधुप बढेको हो।

राष्ट्रपतिको निर्वाचनको विषयले सत्ता गठबन्धनमा ‘खटपट’ आउने आङ्कलन गरिएको छ। यता नेपाली काँग्रेसका नेताहरूले काँग्रेसबाटै राष्ट्रपति बन्ने दाबी गर्दै आइरहेका छन्।

काँग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला राष्ट्रपतिको उम्मेदवार बन्ने आंकाक्षीको रूपमा देखिएका छन्। पछिल्लो समय शेरबहादुर देउवा पनि राष्ट्रपतिको आकाङ्क्षी रहेको बुझिन्छ।

निर्वाचन आयोगका अनुसार १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारी दर्ता हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस