बालाजु घटनामा दुई डिएसपीलाई कारबाही गर्न छानबिन समितिद्वारा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बालाजु घटनामा दुई डिएसपीलाई कारबाही गर्न छानबिन समितिद्वारा सिफारिस


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । काठमाडौँको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। 

बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए। 

प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। 

फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो।

यस्तै, अस्थायी प्रहरी बिट जलाइएको थियो भने ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो।  त्यही आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो। एसिडिसी र डाइमण्ड मोबाइल पसलमा पनि लुटपाट भएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँले आगजनी तोडफोडमा ३५ जना र लुटपाटमा १६ जना गरी ५१ जनालाई पक्राउ गरेको छ। उनीहरूमाथि आपराधिक उपद्रव र चोरी तथा डाँका मुद्दामा अनुसन्धान अघि बढाएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस