प्रदेश सरकार ५ वर्ष चल्छ, मध्यावधि निर्वाचन हुँदैन : मुख्यमन्त्री शाह « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

प्रदेश सरकार ५ वर्ष चल्छ, मध्यावधि निर्वाचन हुँदैन : मुख्यमन्त्री शाह


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष निरन्तर चल्ने दाबी गरेका छन् ।

प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नरहेको अवस्थामा सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने आशङ्का व्यक्त भएको बताउँदै शाहले प्रदेश सरकार पूर्ण कार्यकाल चल्ने दाबी गरेका हुन् ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट गर्दै शाहले प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए ।

‘विश्वासको मतका लागि सबै दलहरूसँग सकारात्मक छलफल भइरहेको छ । केही दिनमा हामी विश्वासको मत लिन्छौँ । सुदूरपश्चिम सरकार पाँच वर्ष निरन्तर चल्छ,’ शाहले भने, ‘यो बेकारको कुरा हो, मध्यावधि निर्वाचनमा जाने कुरा कुनै दल अथवा जनताले चाहेका छैनन्, फेरि चुनावमा गए जनताले लखेट्छन्,।’

२७ पुसमा मुख्यमन्त्री नियुक्त एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । उनलाई समर्थन गरेको नागरिक उन्मुक्ति विश्वास मत नदिएपछि रावल पदमुक्त भएका थिए ।

त्यसपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दल (नेपाली कांग्रेस)को संसदीय दलको नेताको हैसियतमा शाह २६ माघमा सुदूरपश्चिमको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार शाहले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस