एकै पटक पाँच सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकै पटक पाँच सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान


६ फाल्गुन २०७९, शनिबार


काठमाडौँ । नेपाली सेनाले एकै पटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे ।

सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्सवका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते उक्त संख्यामा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले हस्तान्तरण गरेका हुन् ।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख मानिन्छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सक्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाई लिने गरिन्छ ।

गिनिजबुक अफ वर्ल्ड रेकर्डस् संस्थाका नेपाल प्रतिनिधि सागर कटुवालले मुलुकभरबाट जम्मा भएका सेनाका मादल वादकले कायम गरेको रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरिएको जानकारी दिए ।

उनले भने, ‘नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले भएको नौलो र पहिलो प्रयास थियो, सेनाले यसलाई सम्पन्न गर्‍यो । ठुलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वर्ल्ड रेकर्डमा सङ्गृहीत गरेका छौँ ।’

मादल बज्नासाथ प्रत्येक व्यक्तिको मनमा सङ्गीतको तरङ्ग चल्छ । हाम्रो संस्कृतिसँग जोडिएको विशिष्ट पहिचान जोडिएको बाजा मादल नै हो ।

गायक निर्णय एनएसकेले मुलुकमा व्यापक रूपमा प्रयोग हुने बाजाको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपालाई संसारभर परिचित गराउन सफल भएको प्रतिक्रिया दिए । सेनाले कायम गरेको रेकर्ड प्रमाणित गर्ने टिममा रहेर आफूले काम गरेको उनले बताए ।

प्रधान सेनापति प्रभुराम शर्मालाई नेपाली सेनाले ५५५ वटा मादल एकै पटक विभिन्न ताल र सुरमा बजाएर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएर विश्व कीर्तिमान कायम गरेको प्रमाणपत्र हस्तान्तरण गर्दै उक्त संस्थाका नेपाल प्रतिनिधि सागर कटुवाल । तस्बिर : रासस ।

Tags :
प्रतिक्रिया दिनुहोस