कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो नरैनापुर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कार्यसम्पादनमा देशकै उत्कृष्ट बन्यो नरैनापुर


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । मुलुकभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागुन ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्याङ्कन अङ्क प्रदान गरिएको थियो ।

कार्यसम्पादन मूल्याङ्कनमा नरैनापुरले ७८ दशमलव ५१८६ अङ्क प्राप्त गरेको छ । दोस्रो बनेको प्युठानको प्युठान नगरपालिकाले ७७ दशमलव २६१४ अङ्क प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दीको मङ्गला गाउँपालिकाले ७७ दशमलव ०९२६ अङ्क प्राप्त गरेको थियो ।

कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट भएको खबरले हर्षित बनाएको उक्त गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ । मुस्लिम र हिन्दु बाहुल्यता भएको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस