एमालेविरुद्ध फेरि चक्रव्यूह रचिँदै छ : ओली « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेविरुद्ध फेरि चक्रव्यूह रचिँदै छ : ओली


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई तोडेर अघि जानुपर्ने बताए ।

‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअल रूपमा शुभारम्भ गर्दै ओलीले अस्वस्थ ढङ्गले चल्ने राजनीतिक दलहरुलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

‘निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौँ, आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न,’ ओलीले भने, ‘उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ ।’

अस्वस्थ प्रतिस्पर्धाहरूलाई पराजित गर्न सक्ने गरी तयार हुनुपर्ने उनले बताए । पार्टी हितको पक्षमा नउभिने नेता कार्यकर्तालाई पार्टीले पनि हित नगर्ने उनले बताए । ओलीले अघि भने, ‘हामीले पार्टीको अहित गर्‍यौँ भने उसको पनि हित हुँदैन । एमालेको रक्षा जसले गछौँ, एमालेले तिनको रक्षा गर्छ ।’

अब हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको उनले बताए । दुई महिने अभियानबारे प्रस्ट पार्दै एमाले अध्यक्ष ओलीले भने, ‘यो दुई महिने अभियान नै आगामी ४ वर्षको अभियान हो । त्यसको जग बनाउने छ यसले ।’

Tags :
प्रतिक्रिया दिनुहोस