प्रत्येक महिनाको पहिलो साता संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रत्येक महिनाको पहिलो साता संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो हप्ता प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सवाल जवाफमा भाग लिनुपर्ने भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ को दफा ५६ मा प्रधानमन्त्रीलाई सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था गरिएको छ ।

“प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो घण्टा निर्धारण गर्नेछ,” दफा ५६ मा लेखिएको छ । यस्तै, यही दफामा “तर, उक्त दिन कुनै कारणवश बैठक बस्न नसकेमा त्यसपछि लगत्तै बस्ने बैठकको पहिलो घण्टाको समयमा निर्धारण गरिनेछ” भन्ने उल्लेख गरिएको छ । 

प्रतिनिधिसभा नियमावली २०७५ मा भने पहिलो र तेस्रो हप्ताको पहिलो एक घण्टा भन्ने लेखिएको थियो ।

अघिल्लो संसद्को नियमावलीमा भने प्रधानमन्त्री वा निजको कार्यक्षेत्रभित्र रहेका मन्त्रालयसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा निर्धारण गर्न सक्नेछ भन्ने लेखिएको थियो ।

अहिलेको नियमावलीले भने प्रश्नकर्ताको संख्या पनि वृद्धि गरेको छ । ५६ (५) मा प्रश्न गर्दा एक दिनको बैठकमा बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था गरेको छ । जबकि, २०७५ को नियमवालीमा भने एक दिनको बैठकमा बढीमा १० जना सदस्यले मात्र प्रश्न सोध्न सक्नेछन् भन्ने लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस