समीकरण बदल्ने हाम्रो चाहना होइन : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समीकरण बदल्ने हाम्रो चाहना होइन : मन्त्री श्रेष्ठ


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले सत्ता समीकरण बदलिहाल्ने आफूहरूको चाहना नभएको बताएका छन् । तर राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसलाई समेत समेट्ने गरी सहमति खोज्न चाहेको बताए ।

बिहीबार सुर्खेतमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले समीकरण बदल्ने आफूहरूको चाहना नभएको र आफूहरूका कारण यो परिस्थिति सिर्जना नहुने बताए ।

तर प्रधानमन्त्रीले विश्वासको मत माग्दै अधिकांश दलले मत दिएकाले राष्ट्रपति निर्वाचनमा पनि राष्ट्रिय सहमति चाहेको उनले बताए ।

केही दलले त गठबन्धन भत्काउन खोजिएको भनेका छन् नि भन्ने प्रश्नमा उनले कसैले चाहेर मात्र गठबन्धन नभत्किने बताए । सरकार चलाइरहेका दलहरूले सही दृष्टिकोण, नीति र कदम चालेर विश्वासको वातावरण बनाइराख्नुपर्ने भन्दै उनले भने, ‘तर प्रतिगमनलाई कुनै हालतमा अघि बढ्न दिन चाहन्नौ ।’

राष्टियताको रक्षा, समृद्धि र शान्ति प्रक्रियाका बाँकी काम आफूहरूको प्राथमिकता भएको उनले बताए । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने, ‘यसलाई पूरा गर्ने गरी अघि बढ्यौँ भने बाहिरबाट कसैले चाहेर मात्र केही हुन्न । यसो गर्न सकिएन भने हामीले चाहँदैमा वा नचाहँदैमा केही हुन्न ।’

Tags :
प्रतिक्रिया दिनुहोस