मन्त्री लिङ्देन र राजदूत फेलिसिटी जानेबीच भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्री लिङ्देन र राजदूत फेलिसिटी जानेबीच भेटवार्ता


३ फाल्गुन २०७९, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कले शिष्टाचार भेटवार्ता गरेकी छन् । 

उनीहरूबीच मन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा कमला नदी स्टेट अफ दी बेसिन प्लानको विविध विषयमा छलफल भएको थियो । कमला नदी स्टेट अफ दी बेसिन प्लान जलस्रोत व्यवस्थापनमा नमुना योग्य कार्य हुने बताउँदै राजदूत जाने भोल्कले जल तथा ऊर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविस्मरणीय रहेको बताइन् । 

नेपाल र अष्ट्रेलियाबीच ६ दशक लामो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै उपप्रधानमन्त्री लिङ्देनले कमला नदी बेसिनले कृषि क्षेत्र, त्यहाँका बासिन्दाको आर्थिक स्तरोन्नति र चुरेको क्षेत्रमा व्यवस्थापन गर्ने बताए । 

फरक प्रसङ्गमा उपप्रधानमन्त्री लिङ्देनले ५० हजार बढी विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको चर्चा गर्दै उनीहरूले लैजाने सामानको क्वारेनटाइन र अन्य समस्यामा सकारात्मक भूमिका खेल्न आग्रह गरेका थिए । 

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’बीच सन् २०१७ मा समझदारी भएको थियो । 

सो सम्झौताअनुसार कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन र जल तथा ऊर्जा आयोगको सचिवालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ । 

कमला नदीको पानीलाई व्यवस्थित रूपले प्रयोग गर्ने र चुरे दोहन रोक्ने लगायतका कार्यमा कमला नदी स्टेट अफ दी बेसिन प्लान कार्यान्वयनको चरणमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस