बिदाले माओवादी पङ्क्तिको मनोबल बढ्यो : रञ्जित तामाङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बिदाले माओवादी पङ्क्तिको मनोबल बढ्यो : रञ्जित तामाङ


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले माओवादीले लडेर ल्याएको व्यवस्थाले स्थापित गरेका अधिकार उपयोग गर्नेहरूले सरकारले जनयुद्ध दिवसमा दिएको सार्वजनिक बिदाको विरोध गर्न नसुहाउने टिप्पणी गरेका छन्।

२८औँ माओवादी जनयुद्ध दिवसका अवसरमा गृहजिल्ला झापाको दमकमा आयोजित एक कार्यक्रममा उनले माओवादीकै नेतृत्वमा राजतन्त्र अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा समाजका सबै वर्ग, जाति, लिङ्ग र क्षेत्रको अधिकार ग्यारेन्टी हुने गरी संविधानसभाबाट संविधान जारी भएको स्थापित इतिहास अबको सयौँ वर्षसम्म पनि कसैले मेटाउन नसक्ने बताए।

माओवादीले बलिदानबाट ल्याएको व्यवस्थामा हालीमुहाली गर्ने काँग्रेस र एमालेजस्ता दलले १ फागुनमा सार्वजनिक बिदा दिइएको विषयमा आपत्ति जनाउनु आश्चर्य भएको उनको भनाइ थियो।

माओवादीले लगाइदिएको बाली उठाएर त्यसको फल खाइरहेकाहरूले माओवादी जनयुद्धबारे जनतामा भ्रम फैलाउन खोजेको आरोप उनले लगाए।

३२ सिट ल्याएर पनि सरकारको नेतृत्व गर्न सफल आफ्ना अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएका कारण देशभर तथा रोजगारीका सिलसिलामा विदेशमा रहेका माओवादी कार्यकर्ता र समर्थकको मनोबल बढेको दाबी उनको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस