मसानघाटमा पुगेको प्रेत ब्यूत्याउने प्रयास भइरहेको छ : शङ्कर पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मसानघाटमा पुगेको प्रेत ब्यूत्याउने प्रयास भइरहेको छ : शङ्कर पोखरेल


२ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालका राष्ट्रिय शक्तिहरूलाई कमजोर बनाउने विदेशीहरूले चलखेल गरिरहेको बताएका छन् ।

मङ्गलवार काठमाडौँमा सुरु भएको अनेरास्ववियुको २३ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा विदेशीले गर्न खोजेको षड्यन्त्रलाई असफल पार्न अनेरास्ववियुले अग्रसरता लिनुपर्ने बताए ।

‘नेपालको राष्ट्रिय राजनीतिलाई कमजोर पार्ने विदेशीहरूले खेल खेलिरहेका छन् । त्यो खेल असफल पार्न अनेरास्ववियुका योद्धाहरू देशभक्त योद्धाका रूपमा राष्ट्रिय राजनीतिमा अघि आउन जरुरी छ’, पोखरेलले स्वाधीनता र स्वाभिमान जोगाउन केपी ओलीले चल्ने कदममा सहयोग गर्न आग्रह समेत गरे । 

महासचिव पोखरेलले नेपाली राजनीतिमा तीन प्रकारका चुनौती रहेको भन्दै ती समस्यामध्ये एक मसानघाटमा पुगिसकेको सामन्ती  प्रेतलाई जगाउने षड्यन्त्र रहेको बताए । 

‘आज नेपाली समाजमा जुन प्रकारका समस्याहरू छन् । त्यो समस्याको जगबाट मसानघाटमा पुगिसकेको सामन्ती प्रेतलाई फेरि झ्याउराउने प्रयत्न भइरहेको छ । त्यसको खबरदारी गर्ने काम आजको अनेरास्ववियुले गर्न सक्नुपर्छ’, पोखरेलको भनाइ छ । 

उनले मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास कुनै हालतमा सफल नहुने चेतावनी समेत दिए । 

‘मसानघाटमा पुगेको प्रेत व्युत्याउने प्रयास किमार्थ सफल हुन सक्दैन । लोकतन्त्रलाई संस्थागत गर्न हामी पहरेदारका रूपमा उभिनेछौ’, पोखरेलको भनाइ  छ ।

Tags :
प्रतिक्रिया दिनुहोस