पुनः पार्टी प्रवेशमा रोक लगाउने जनमतको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

पुनः पार्टी प्रवेशमा रोक लगाउने जनमतको तयारी


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले पार्टी छाडेर गएकाहरूलाई पुनः प्रवेशमा रोक लगाउने तयारी गरेको छ।

काठमाडौँमा तीन दिनसम्म चलेको जनमतको केन्द्रीय कार्यकारिणी समिति विशेष बैठकले पार्टी छाडेर गएका नेता तथा कार्यकर्तालाई पुनः प्रवेश गर्न नदिने वा गरेको खण्डमा ६ वर्षसम्म कुनै पनि पदमा वा निर्वाचनमा सहभागी हुन नदिने तयारी गरेको नेता बिपी साहले जानकारी  दिए।

यी विषयहरूमा पुनः बैठक बसी केही दिनमै निर्णय सार्वजनिक हुने जनमत पार्टीले जनाएको छ।

माघ २८ देखि फागुन १ गतेसम्म चलेको बैठकमा सङ्गठनको पुनर्संरचना, केन्द्रीय संरचनाहरूको पुनर्गठन, संघीय परिषद् र प्रादेशिक समितिहरूको गठनबारे पनि छलफल भएको छ।

‘घर-घर जनमत,’ अभियान, ‘जनमत प्रवेश’ महाअभियान, नवप्रवेशी र नेता कार्यकर्ताहरूको व्यवस्थापन, प्रशिक्षण र अनुशासन, जिल्ला इन्चार्जहरूको नियुक्ति/फेरबदल, जिल्ला अधिवेशनको तयारीबारे पनि छलफल भएको हो।

भ्रातृ सङ्गठन, मोर्चा र विभागहरूको पुनर्गठन, हरेक जिल्लामा प्रभावकारी र नियमित कार्यालय तथा हेल्प-डेस्क व्यवस्थापन आदि विषयबारे बैठकमा छलफल भएको छ। पार्टी प्रवेश गर्न चाहने राष्ट्रिय तथा जिल्ला स्तरका नेताहरूलाई शीघ्र पार्टी प्रवेश गराउने र यसका लागि संयन्त्र निर्माण गरिने विषयमा पनि छलफल भएको जनमतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस