जनयुद्ध दिवसमा दिइएको बिदाप्रति राप्रपाको असन्तुष्टि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनयुद्ध दिवसमा दिइएको बिदाप्रति राप्रपाको असन्तुष्टि


२९ माघ २०७९, आइतबार


काठमाडौँ । सरकारले १ फागुनमा जनयुद्ध दिवसको बिदा दिएकोमा सत्तारुढ घटक राष्ट्रिय प्रजातन्त्र पार्टीले असन्तुष्टि जनाएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

१ फागुन २०५२ मा तत्कालीन नेकपा माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा हिंसात्मक आन्दोलन सुरु गरेको थियो । सोही दिनको सम्झनामा प्रचण्ड नेतृत्वको सरकारले बिदा दिएको हो । उक्त बैठकमा राप्रपाका मन्त्रीहरू सहभागी भएनन् । राप्रपाबाट उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह मन्त्रिपरिषदमा छन् ।

अचानक मन्त्रिपरिषद् बैठक बोलाएर जनयुद्ध दिवस एजेण्डामा छ भन्ने थाहा पाएपछि आफूहरू नगएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार मन्त्रीहरूलाई बैठकको एजेण्डा दिइएको थिएन । आइतबार बिहान सत्ता गठबन्धन दलका शीर्ष नेताबीच छलफल हुँदा पनि यो विषय उठेको थिएन ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कुनै राजनीतिक दलको अगुवाइमा भएको हिंसात्मक द्वन्द्वलाई उत्सवको रूपमा मनाउनु दुर्भाग्य र विडम्बनापूर्ण भएको बताए ।

राप्रपाले पृथ्वी जयन्तीमा २७ पुसमा बिदा दिनुपर्ने अडान राखेको थियो र सरकारले बिदा पनि दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस