भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति भण्डारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक : राष्ट्रपति भण्डारी


२८ माघ २०७९, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवं भौतिक विकासमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताएकी छिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्दै उनले भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पु¥याउने बताइन् ।

‘मुलुकको उच्चतम हित र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रूपमा लिइ कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ,’ उनले भनिन् । राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने उल्लेख गरिन् ।

कानूनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएकाले भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उनको धारणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस