काठमाडौँ । नेपाल चिकित्सक सङ्घले अस्पताल परिसरभित्रै प्रहरीले डाक्टरमाथि लाठी चार्ज गरेको भन्दै विरोध गरेको छ । शुक्रबार नेपाल चिकित्सक सङ्घका आजीवन सदस्य एवं राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि अस्पताल परिसर भित्रै प्रहरीले लाठी चार्ज गरी गम्भीर घाइते बनाएको सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्रै प्रहरीद्वारा साङ्घातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको भएको विज्ञप्तिमा उल्लेख छ ।
‘सुरक्षाकर्मीबाटै गरिएको यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सना योग्य गतिविधिप्रति नेपाल चिकित्सक सङ्घ घोर भर्त्सना र निन्दा गर्दै उक्त घटनामा संलग्न दोषी सुरक्षाकर्मीलाई अविलम्ब “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९” बमोजिम कडा भन्दा कडा कानूनी कारबाही गर्न यस सङ्घ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
आजको २४ घण्टा भित्र दोषीमाथि कानूनी कारबाही नगरिए आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने सङ्घका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीले डाक्टरमाथि लाठीचार्ज गरेको बताइएको छ ।
सम्बन्धित समाचार : राष्ट्रपतिको सवारीमा प्रहरीबाट डाक्टर कुटिए