सङ्गठन विभाग प्रमुखमा जनार्दन, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सङ्गठन विभाग प्रमुखमा जनार्दन, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले पुरानै कार्य विभाजनलाई कायम राखेको छ । जसअनुसार सङ्गठन विभाग प्रमुखमा जनार्दन शर्मा प्रभाकर नै कायम भएका छन् भने अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुनले निरन्तरता पाएका छन् । दुवै उपमहासचिव हुन् ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरूमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

२०७८ पुष दोस्रो साता काठमाडौंमा सम्पन्न आठौँ महाधिवेशनले कार्यविभाजनबारे निर्णय लिएको थिएन । लामो समयसम्म कार्य विभाजन नभएको भनी प्रश्न उठेपछि माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्य विभाजन कायम गरेको हो ।

४ कातिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र सङ्गठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले सम्हाल्दै आएका छन् । महाधिवेशनले निर्णय नगरेका कारण दुबै नेताले सोही अनुसारको भूमिका निर्वाह गर्दै आएका थिए । जसलाई स्थायी समितिले वैधानिकता दिएको हो ।

सोही अनुसार स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्माले सङ्गठन विभाग प्रमुखको हैसियतमा सङ्गठन सम्बन्धी प्रस्तावसहितको रिपोर्टिङ गरेका थिए । अर्का उपमहासचिव गिरिराजमणि पोखरेलले स्कूलिङ् विभागका प्रमुखको हैसियतमा स्कुल विभागले तयार पारेको पाठ्यक्रम लगायतका विषयमा रिपोर्ट प्रस्तुत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस