सकारात्मक सोचका साथ काम गरौँ -मन्त्री मोदी  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सकारात्मक सोचका साथ काम गरौँ -मन्त्री मोदी 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सबै कर्मचारीले सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताएका छन् । सकारात्मक सोचबाट दिनको सुरुवात गर्नुपर्ने बताउँदै उनले सुशासन तथा समृद्धिका लागि सबै कर्मचारीमा सकारात्मक सोचको विकास हुन जरुरी रहेकोसमेत बताए । 

सचिवको स्वागत तथा बिदाइ समारोहलाई सम्बोधन गर्दै बुधवार(आज)मन्त्री मोदीले सो कुरा बताएका हुन् । उनले दुवै सचिव उत्तिकै काबिल र सक्षम भएको बताउँदै सबैकुरा आफूले मात्रै चाहेको नहुने भएकोले सबै पक्षलाई सँगसँगै लैजाने क्रममा आउने जाने भई रहने बताए ।  

‘अर्जुनप्रसाद पोखरेल, जोसँग मैले करिब तीन हप्ता काम गरे, निकै मज्जा लाग्यो’ मन्त्री मोदीले भने, ‘जे छ प्रस्ट रूपमा राख्ने सचिवका रूपमा पाएँ’ । 

साथै नवनियुक्त सचिव कृष्णहरि पुस्कर पनि ऊर्जावान् र क्षमतावान् रहेकोले मन्त्रालयको कामकारबाहीले गति लिने विश्वास लिएको मन्त्री मोदीको भनाई छ । 

टिममा बसेर सुधार गरौँ भन्दै मन्त्री मोदीले त्यसका लागि सबै कर्मचारीको साथ र सहयोग उत्तिकै महत्त्वपूर्ण रहने र आफूले पाउनेमा विश्वस्त रहेकोसमेत बताए । 

सङ्घीयता कार्यान्वयन पेचिलो बन्दै गइरहेको अवस्थामा अहिलेको प्रमुख प्राथमिकता सङ्घीय निजामती सेवा ऐन ल्याउने नै भएकोले मन्त्रीले गरिरहेको पहल सकारात्मक भएको सरुवा भएर जान लागेका सचिव अर्जुन प्रसाद पोखरेलले बताए । अझ प्राथमिकतामा राखेर बढाउन आवश्यक रहेको सुझाउँदै सचिव पोखरेलले त्यसमा कहिँकतै आफ्नो आवश्यकता परे त्यो निर्वाह गर्न हरपल तयार रहेकोसमेत बताए । 

६ महिनाको अवधिमा आफ्नो अनुभव सुनाउँदै सचिव पोखरेलले सबैभन्दा राम्रो पक्ष मन्त्रालयका सबै कर्मचारी सहयोगी भेटेको बताए । ‘म आएको ६ महिनामा तपाईँहरू कसैको पनि कार्य विभाजन परिवर्तन गरिनँ’, उनले भने, ‘म जो जहाँ छ, त्यसैबाट काम लिने प्रयत्न गर्छु र कर्मचारीको गल्ती नभेटाएसम्म मैले विश्वास गर्छु ।’ 

उनले आफूले अपनाएको विधि अपनाउँदा मन्त्रालय अझ स्थिर र स्मुथली काम गर्न सकिने बताउँदै गल्ती नगरुन्जेलसम्म कर्मचारीलाई विश्वास गर्दै कर्मचारीप्रति धेरै शंकालु पनि हुन नहुने सुझाए । ‘शङ्काले प्रशासन चल्दैन, त्यसैले विश्वासबाट काम गर्नुपर्छ ।’ उनले भने । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको धेरै ठुलो जिम्मेवारी र भूमिका रहेकोले राजनीतिज्ञ र सेवाग्राहीको नम्रतापूर्वक कुरा सुन्न पनि सचिव पोखरेलले सुझाए । ‘तपाईँहरूले सेवाग्राही र राजनीतिज्ञहरूको पोलाइट्लि कुरा सुन्नुहोला’ उनले भने, ‘त्यो समस्याको पहिलो समाधान हो ।’ 

सामान्य प्रशासन मन्त्रालय मानव संसाधन मन्त्रालय भएकोले हरेक व्यक्तिको कुरा सुन्नुपर्ने उनको भनाई थियो ।  जाँदाजाँदै अत्यन्तै ऊर्जावान् मन्त्री मन्त्रालयले पाएको भन्दै पुगनपुग एक महिना काम गर्दा धेरै कुरा सिक्न पाएको र नवनियुक्त सचिव पनि क्षमतावान् आएको बताए । 

कर्मचारीहरू राजनीतिक नेतृत्वको निर्देशनमा अहोरात्र खटिँदै आएको भए पनि राजनीतिक र सेवाग्राही दुबैबाट जस नपाएको सचिव पोखरेलको भनाई छ । कर्मचारीले नै स्थापित प्रणालीभन्दा भिन्न तवरले काम गर्दा यस्तो अवस्था आएको उनको ठहर छ । 

उनले नवनियुक्त सचिव पुस्करलाई स्वागत तथा बधाई दिँदै कार्यकालको शुभकामनासमेत दिए । 

नवनियुक्त सचिव कृष्णहरि पुस्करले सङ्घीयता कार्यान्वयनको संवेदनशील मोडमा सरकारले आफूलाई जिम्मेवारी सुम्पेको बताउँदै सबै कर्मचारीको विज्ञतालाई भरपुर उपयोग गरेर मन्त्रीको अभियानमा सघाउने प्रतिबद्धता जनाएका छन् । 

उनले देशको आवश्यकता अनुसार जुनसुकै बेला पनि काम गर्नुपर्ने हुनसक्ने भएकोले त्यसका लागि तयार रहनसमेत कर्मचारीलाई निर्देशन दिए । 

प्रधानमन्त्रीको कार्य योजना कार्यान्वयन गर्न आफू आजैदेखि लागि पर्ने बताउँदै उनले त्यसका लागि सम्पूर्ण कर्मचारीको साथ र सहयोग रहने विश्वास लिएको समेत उनको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस