हवाई सेवा सुरक्षित बनाउने सम्बन्धी रिटमा सर्वोच्चद्वारा सरकारसँग जवाफ माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हवाई सेवा सुरक्षित बनाउने सम्बन्धी रिटमा सर्वोच्चद्वारा सरकारसँग जवाफ माग


२५ माघ २०७९, बुधबार


काठमाडौँ । हवाई सेवा सुरक्षित बनाउन संरचनागत सुधारको मागसहित परेको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले संवेदनशील विषय भन्दै अग्राधिकार दिएर विपक्षीसँग जवाफ मागेको रिटकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।

हवाई सुरक्षा मापदण्ड सम्बन्धी अनुगमनमा हुने हेलचक्य्राइँ, प्राविधिक क्षमताका अभावका कारण नेपालमा हवाई दुर्घटना बढेको भन्दै त्रिपाठीले माघ २० गते रिट हालेका थिए। उनले अहिलेको कानून, नीति र मापदण्ड नै सुधार गर्न आदेशको माग गरेका थिए।

रिटमा विशेषज्ञहरूको उच्च स्तरीय समिति बनाएर उड्डयन क्षेत्रका कानून नियम र सुरक्षा मापदण्डमा सुधार गर्नुपर्ने, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले तय गरेका मापदण्ड पालना भए नभएको निरन्तर अनुगमन गर्न स्थायी संयन्त्र बनाउन पनि रिटमा माग गरिएको छ। उक्त संयन्त्रलाई विमान सञ्चालन अनुमति (लाइसेन्स) खारेज गर्नेसम्मको अधिकार दिनुपर्ने पनि माग गरिएको छ।

विमानस्थल निर्माण, सञ्चालन गर्ने र उड्डयन क्षेत्र नियमन गर्ने निकाय फरकफरक हुनुपर्ने गरी कानूनी व्यवस्था गर्न रिटमा माग गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस