सहकार्य र समन्वयबाट सभा सञ्चालन : उपाध्यक्ष अर्याल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सहकार्य र समन्वयबाट सभा सञ्चालन : उपाध्यक्ष अर्याल


२४ माघ २०७९, मंगलबार


काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सांसदको सहकार्य र समन्वयबाट निष्पक्ष रूपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छिन् ।

सिंहदरवारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेप ध्यान दिने उल्लेख गरिन् ।

उनले भनिन्, ‘राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सांसदलाई मुखरित गरेर महिला मुद्दालाई विशेष ध्यान दिई सहयोगको अनुकूल वातावरण सिर्जना गर्छु ।’

उपाध्यक्ष पदको सानो भूमिकालाई प्रभावकारी बनाउन नयाँ शैलीबाट अगाडि बढ्ने उनको भनाइ छ ।

विसं २०१३ असोज २० गते साबिक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मिएकी अर्याल हाल वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक निवासी हुन् । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गत वर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी हुन् ।

समाजशास्त्रमा स्नातकोत्तर गरेकी अर्याल विद्यावारीधिको शोधार्थी हुन् । अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेकी अर्यालले महिला विकास अधिकृतका रूपमा पनि सेवा गरेकी छिन् ।

तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस